१२ मंसिर २०८३, शुक्रबार

के अब नेपालमा फेरि राजतन्त्र

एसीपी संवाददाता

१२ असार २०७८, शनिबार ०४:४३ मा प्रकाशित

काठमाडौं । मौजुदा संविधानले राजतन्त्रको होइन गणतन्त्रको व्यवस्था गरेको छ । अहिले राजतन्त्रको कुरा गर्नु संविधानभन्दा बाहिरको विषय हुन्छ । तर, गणतन्त्र जोखिममा परेको भने दाबी गर्न सकिन्छ । गणतन्त्रको संवाहक मानिएका नेताहरु राजतन्त्रको पक्षपोषणमा खुलम्खुला अभिव्यक्ति दिन थालेकाले गणतन्त्र जोखिममा परेको भन्न गाह्रो पर्दैन । गणतन्त्र जोखिममा परेपछि स्वभाविक रुपमा  राजतन्त्रको सम्भावना नकार्न सकिँदैन । 

राजतन्त्र अन्त्यका लागि माओवादीको सशस्त्र संघर्षको पनि ठूलो योगदान छ । उक्त संघर्षको नेतृत्व पुुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । उनै प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीको सशस्त्र संघर्ष र माओवादीसहित तत्कालीन सात राजनीतिक दलहरुले अगुवाइ गरेको २०६२/०६३ को जनआन्दोलनपछि मुलुकबाट राजतन्त्र अन्त्य भयो ।

जसले राजतन्त्र अन्त्यका लागि अहम् भूमिका खेल्यो, उसले आज राष्ट्रपतिभन्दा राजाकै शान थियो भनेर अभिव्यक्ति दिनुलाई सामान्य रुपमा लिन गाह्रो हुन्छ । यसले पर्दा पछाडि कस्तो खेल भइरहेको छ भने चियाउन सबैलाई उक्साउँछ नै, अनि विकसित राजनीतिक घटना क्रमलाई केलाउन दबाब दिन्छ । 

बिहीबार सम्पादकहरुलाई बोलाएर प्रधानमन्त्री र राष्ट्रपति मिलेर संवैधानिक निकायलाई निरीह बनाएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘हेर्नुस् त अहिले त राष्ट्रपति कस्तो भयो । अहिले राष्ट्रपति भनेको संस्था त यति…। त्यो भन्दा त राजाहरु भन्दा त थियो नि शान । अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत पनि छैन । कस्तो भयो त हामीले बनाएको संस्था । राष्ट्रपति त संस्था हो नि ।’https://www.youtube.com/embed/8pM1lt0-GMc

संविधान र गणतन्त्रको रक्षाका लागि आफूहरु राजनीतिक संघर्षमा होमिएको बारम्बार बताइरहेका प्रचण्डले सजिलैसँग राजाहरुको तारिफ वाचन गर्नुलाई धेरैले सामान्य रुपमा लिएनन् । 

अझ कांग्रेसका शेरबहादुर देउवा, एमालेका माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादवसहितका नेताहरुलाई साक्षी राखेर संसद भवनमा सम्पादकहरुलाई बोलाएर प्रचण्डले राष्ट्रपतिको भन्दा राजाहरुको मान र शान थियो भनेर अभिव्यक्ति दिएका हुन् । र यो समाचार तयार पार्दासम्म प्रचण्डसहितका नेताहरुले खण्डन वा सच्याएका छैनन् । जस कारण उक्त अभिव्यक्ति शंकाको घेरामा परेको हो । 

संविधान सभाबाट जारी संविधानले राजतन्त्रलाई अस्वीकार गरेको छ । तर, संविधान संशोधनीय भएकाले राजतन्त्रको सम्भावनालाई नकार्न कठिन हुन्छ ।

समानुकुल संविधान संशोधन गर्दै लैजाने आफूहरुको आन्दोलनको प्राथमिकता परेको भन्दै प्रचण्डले भने, ‘यो संविधानलाई रक्षा गर्ने, यो संविधानलाई समय अनुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा आधारित भएर यो गठबन्धन (माओवादी केन्द्र, कांग्रेस, एमालेको नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धन) बनाइनुपर्छ भन्ने हाम्रो प्रमुख मान्यता हो ।’

आजै र अहिल्यै राजतन्त्रको सम्भावना कठिन छ । तर, जसरी राजनीतिक दलहरुको क्रियाकलाप र अभिव्यक्तिलाई हेर्ने र भूराजनीतिलाई केलाउने हो भने राजतन्त्रको सम्भावनालाई नकार्न सकिँदैन । 

मुलुकको राजनीतिमा भारतको प्रत्यक्ष–परोक्ष प्रभाव पर्ने राजनीतिक दलका नेताहरु स्वीकार्छन् । भारतको संस्थापन पक्ष नेपालमा हिन्दु राज्यको चाहमा रहेको आममानिसको बुुझाइ छ । हिन्दु राष्ट्रको घोषणापछि नेपालमा राजतन्त्र ल्याउन भारतको रणनीति रहेको तर्क सुुनिन थालेको धेरै भइसक्यो । 

यस सेरोफेरोमा भएको निर्वाचनमा कम्युनिष्ट पार्टीले ल्याएको दुुई तिहाइ मत साढे तीन वर्षमै कमजोर हुनु पुग्यो । शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन नसक्ने गरी राजनीतिक अस्थिरता निम्तियो । दलहरु विभाजित छन् । सत्तारुढ दल एमाले र जनता समाजवादी पार्टी नेपाल चरम आन्तरिक विवादमा फसेको छ । 

जनताको सर्वाेच्च संस्था प्रतिनिधि सभा विघटन भएको छ । संविधानको संरक्षक राष्ट्रपतिमाथि असंवैधानिक कदम चालेको आरोप छ । यी विषय सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । 

गणतन्त्र, संघीयताजस्ता राजनीतिक उपलब्धी प्रधानमन्त्री ओलीबाट गुम्ने खतरा रहेको आरोप पनि छ । प्रधानमन्त्री ओली पछिल्लो समय हिन्दुधर्म र हिन्दुशास्त्रको प्रवचन तथा धार्मिक संस्थाको प्रवद्र्धन र स्तरोन्नति र निर्माणमा जुटेका छन् । प्रधानमन्त्री ओलीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न लागेको भन्दै हिन्दूवादीहरुको साथ र समर्थन रहँदै आएको छ ।  

नेपाली कांग्रेसका बहुमत सदस्य हिन्दु राष्ट्रको पक्षमा रहेको बताइन्छ । हिन्दु राष्ट्रको घोषणासँगै मुलुकमा राजतन्त्र फर्काउने खेल भइरहेको धेरैले अनुमान लगाउन थालेका छन् । यस पृष्ठभूमिमा बिहीबार सम्पादकहरुमाझ प्रचण्डले राष्ट्रपति भन्दा राजाहरुको शान र मान थियो भन्ने अभिव्यक्तिलाई शंकाको घेरामा हालेर सोच्न पाउने सुविधा दिएको छ । 

कांग्रेस, एमालेसहित तत्कालीन सात राजनीतिक दल परिस्थितिले गणतन्त्रमा गएको सबैलाई अवगत नै छ । तर, राजतन्त्रको अन्त्य र गणतन्त्रको माग राखेर १७ हजार नागरिकको ज्यान जाने गरी भएको सशस्त्र युद्धको नेतृत्व लिएका प्रचण्ड स्वयंले राष्ट्रपतिको भन्दा राजाको शान र मान थियो भनेर अभिव्यक्ति दिनुलाई आगत राजनीतिक अवस्था र परिस्थितिको अनुमान लगाउन सकिन्छ । 

नेताहरुले भनेजस्तै संविधानसभाबाट संविधान जारी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भयो, जनताको छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री बने र एउटै दललाई बहुमत ल्याउन दलहरुलाई जनताले साथ र सहयोग गरे । तर, साढे तीन वर्षमै जनमत धुजाधुजा पारियो भने स्वयं नेताहरुले राष्ट्रपतिको भन्दा राजाको शान र मान थियो भनेर गणतन्त्र कमजोर भएको अभिव्यक्ति दिन थाले । मुलुक कठिन अवस्थामा आइपुगेको, गणतन्त्रमाथि खतरा उत्पन्न भएको जस्ता अभिव्यक्ति सत्ता पक्ष र विपक्षी नेताहरुले दिन थालेका छन् । जसले मौजुदा संविधानले व्यवस्था गरेको गणतन्त्रमाथि धावा बोलिरहेको छ ।  क्यानाडानेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x