के हो शाहरुख खान छोराको र्याप पार्टी , आर्यनमाथि ड्रग्स खरिद र सेवन गर्ने अभियोग
२१ गते असोज २०७८ बिहिवार । भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई एक रेव पार्टीबाट गिरफ्तार गरेको घटना अहिले चर्चामा छ । आर्यनमाथि ड्रग्स खरिद र सेवन गर्ने गरेको अभियोग छ । आर्यनको जमानतबारे सोमबार सुनुवाइ भएको थियो, तर उनलाई बिहीबारसम्म एनसिबीको हिरासतमा राख्न आदेश दिइयो । कोर्डेलिया क्रुजमा भएको कथित रेव पार्टीका कारण आर्यन खानसँगै आठ अन्य व्यक्ति पनि हिरासतमा पुगेका थिए । जसकारण, रेव पार्टी र यसमा ड्रग्सको प्रयोगबारे चर्चा सुरु भइसकेको छ ।

रेव पार्टी के हो ?
रेव पार्टीहरु गुपचुप तरिकाले आयोजना गरिन्छ । यसमा ड्रग्स, मदिरा, संगीत, डान्स र कहिलेकाँही सेक्स पनि हुन्छ । एनसिबीका एक अधिकारीले नाम गोप्य राख्ने शर्तमा बीबीसी हिन्दीसँग भनेका छन्, ‘रेव पार्टीहरु पार्टी सर्कलमा जोडिएका केही सिमित मानिसहरुका लागि आयोजना गरिन्छ । यस्ता पार्टीहरूमा नयाँ मानिसहरुलाई आउने अनुमति दिइएको हुँदैन । यसको जानकारी बाहिर नजाओस् भनेर यस्तो गरिन्छ ।’
ड्रग्स बेच्ने र किन्नेहरुका लागि रेव पार्टी सुरक्षित स्थान मानिन्छ । एनसिबीका एक अधिकारीका अनुसार रेव पार्टीहरुमा ठूलो मात्रामा ड्रग्सको खपत हुन्छ ।
क्रुजमा भएको रेव पार्टीबाट एनसिबीले १३ ग्राम कोकिन, पाँच ग्राम मेफेड्रोन र २२ ट्याबलेट एक्सटेसी बरामद गरेको छ । ती अधिकारीले भने, ‘रेव पार्टीहरुमा एक्सटेसी, केटामाइन, एमडीएमए, एमडी र चरेस पनि प्रयोग हुन्छ ।’
ड्रग्स लिनेहरु लामो समयसम्म एउटै र उस्तै मुडमा रहुन् भन्ने उद्देश्यले यस पार्टीमा तेज आवाज र इलेक्ट्रिक ट्रान्स म्युजिक चलाइएको हुन्छ । मानिसहरु ड्रग्स लिन्छन् र यस संगीतमा झुम्छन् ।
रेव पार्टीहरु २४ घण्टादेखि तीन दिनसम्म चल्ने गरेका छन् ।
एनसिबीका एक अधिकारीले भने, ‘यहाँ एक खास तरिकाको म्युजिक सिस्टम हुन्छ । ताकि, इलेक्ट्रिक ट्रान्स म्युजिकलाई तेज आवाजमा चलाउन सकियोस् ।’
लेजरबाट रंगीन फोटोहरु, भिजुयल इफेक्ट्स र धुवाँ निकाल्ने मेसिनको प्रयोग पनि रेव पार्टीहरुमा हुने गर्छ । छापा मार्ने अधिकारीहरुसँगै गएका एक व्यक्ति भन्छन्, ‘रेव पार्टीहरुमा चल्ने गीतमा निकै कम शब्द हुन्छन् । ट्रान्स म्युजिक एक काल्पनिक वा भ्रमित गर्ने वातावरण पैदा गर्छ र मानिसहरुलाई त्यो राम्रो लाग्छ ।’


