पुस अन्तिम साता टीकापुर आउनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकालाई स्थानीयले स्मरण गराएपछि ब्यारेक राख्ने काम अघि बढेको हो। जिल्ला प्रशासन कार्यालय कैलालीले २०७५ असार ३ गते पत्र लेखी जग्गा उपलब्ध गराउन माग गरेको थियो । यसै पत्रका आधारमा टीकापुर नगरपालिका नगर कार्यपालिकाको २०७५ असोज २ गतेको बैठकले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो।
निर्णयमा लेखिएको छ, ‘विपद्का घटनाहरू भइरहने भएकाले विपद् व्यवस्थापन, राहत, उद्धार र सुरक्षाका लागि सेनाको ब्यारेक आवश्यक रहेकाले टीकापुर नगरपालिका ५ मा रहेको भगरैया वनको सम्भाव्य क्षेत्रमा बढीमा दश बिघा जग्गा उपलब्ध गराउने निर्णय गरियो ।’ निर्णय कार्यान्वयन गराउन कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले माघ ८ गते स्थलगत अवलोकन गर्दा पहिले दिने भनिएको स्थान उपयुक्त नभएकाले उपल्लो तटमा छुट्टाउन नगरपालिकालाई जिम्मा दिइएको बताए ।
स्थानीय कलशराम चौधरीले आफ्नो बस्तीका गाई गोरु चर्ने क्षेत्रमा सेनाको ब्यारेक राख्दा समस्या हुने भएकाले बस्तीबाट टाढा हुनुपर्ने बताए । अर्का स्थानीय खगिसरा घर्तीमगरले विकासले पछिपरेको क्षेत्रमा सेनाको ब्यारेक बस्दा स्थानीयलाई पनि लाभ हुने अपेक्षा गरे ।स्थानीयको फरक–फरक प्रतिक्रिया आएपछि टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले नगरपालिकाको मातहतमा रहेको १३२ बिघा जमिनबाट बस्तीलाई कुनै समस्या नहुनेगरी १० बिघा दिने बताए । कर्णाली मोहना नदीले बर्सेनि विपद् ल्याउने टीकापुरमा नेपाली सेनाले सहयोग गर्दैआएको छ ।


