गिरिजाबाबु पछिको सशक्त नेता बन्दै ओलि
काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले नेपालको राजनीति अब ओलीकै वरिपरी घुम्ने जानकारी गराएका छन् । मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा मन्त्री अधिकारीले अब अवस्था यस्तो देखियो कि नेपालको राजनीति केपी ओलीको वरिपरि दशकौं घुम्ने भो भने । ‘पहिला नेपालको राजनीति गिरिजाप्रसाद कोइरालाको वरिपरि नै घुमिरहेको थियो ।
अब केपी ओली बेगरको संसदको पुनर्स्थापना हुने कुराको पनि उहाँ नेतृत्वको सरकार बेगरको कल्पना गर्न सक्नुहुन्न । चुनावपछिको परिणाममा पनि त्यो कल्पना गर्न सकिँदैन । भनेपछि किन गाली गरिरहने । सहमतिका साथ जाऔ । मिलेर आह्वान गर्नुभाछ । सर्वदलीय सहमतिका निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने भरपर्दो बनाउन आउनुस् सबै मिलेर सरकार बनाउ त भन्नुभएकै छ । आह्वान गर्नुभएको छ,’ अधिकारीले भने ।
‘म यहाँ कमाउन आएको होइन’
मन्त्री अधिकारीले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको पनि बताए । उनले महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आसन्न निर्वाचनलाई विश्वस्तरले विश्वसनीय ठान्ने गरी तयारीका लागि कार्ययोजना बनाउन मन्त्रालयले टोलीले काम गरिरहेको जानकारी दिए ।
सञ्चारकर्मीलाई देशको स्वाधिनताको रक्षा र कानूनको पालनामा खबरदारीसहित साथ दिन आग्रह गर्दै मन्त्री अधिकारीले आफूले पदको कुनै दुरुपयोग नगरी इमान र विवेकका साथ देशको माटोको रक्षा र सुशासनका लागि दत्तचित्त भएर काम गर्ने प्रण गरे ।
‘म यहाँ कमाउन आएको होइन, मलाई कुनै आर्थिक लाभ लिनु छैन । म गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी नयाँ केही छाप दिएर ख्याति कमाउन चाहान्छु,’ मन्त्रालयका सचिव महेश्वर न्यौपानेलगायत पदाधिकारीका साथ प्रस्तुत मन्त्री अधिकारीले भने, ‘मलाई गृह प्रशासन र सुरक्षा निकायमा कुनै दबाब र प्रभाव विस्तार गर्नु पनि छैन । कतिपय नेताबाट दबाब र प्रभाव त हुँदोरहेछ तर म नियम र कानूनअनुसार प्रणालीले काम गरोस् भन्ने चाहान्छु ।’
मन्त्री अधिकारीलाई पत्रकारहरुले सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीलाई स्रोत, साधन र प्रोत्साहन दिन, जनताले सुशासन र सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका थिए । नेपालपाना


