१२ मंसिर २०८३, शुक्रबार

चिनसङ सिमा बिवाद सगरमाथा देखि हिमाल सम्म

एसीपी संवाददाता

२१ आश्विन २०७८, बिहीबार ०४:१८ मा प्रकाशित

बीपी कोइरालाको चीन भ्रमणका बेला नेपाल–चीनबीच सीमा सम्झौताका क्रममा दुबै पक्षले आफूसँग भएका नक्साहरू आदान– प्रदान गरेका थिए । त्यसमध्ये चिनियाँ पक्षबाट प्रकाशित नक्साहरूमा सगरमाथा चिनियाँ सीमारेखातर्फ देखाइएको थियो । चिनियाँ पक्षको नक्सामा चिनियाँ भूभागभित्र परेको देखिए पनि सगरमाथा आफ्नै हो भनेर चीनले दावी भने गरेको थिएन ।

यस सम्बन्धमा नारायणप्रसाद राजभण्डारीले तयार पारेको ‘नेपाल–चीन सीमा कमिटीको प्रतिवेदन–२०२१’ मा भनिएको छ, ‘…यस (सगरमाथा) विषयमा चिनियाँ पक्षबाट खास दावाको रुपमा प्रस्तुत गरिएको थिएन । तापनि वार्ताको सिलसिलामा चिनियाँ पक्षबाट प्रस्तुत गरिएको नेपाल–चीनको सम्पूर्ण सीमाङ्कन दर्साइएको नक्सामा मकालुदेखि चोओयू शिखरतकको रेखाङ्कन खिचिँदा सगरमाथालाई सीमानाबाट चिनियाँ भूमितर्फ देखाउनुको अतिरिक्त सम्पूर्ण महालंगूर हिमालयको श्रृङ्खला एवं सगरमाथादेखि ५ माइल दक्षिणसम्मका भूभाग चीनतर्फ देखाइएको थियो । यसमा नेपाली पक्षबाट विरोध दर्साएपछि त्यो इलाकापनि विवादग्रस्त नभएपनि मतभेदपूर्ण इलाकाभित्र सम्मिलित हुन गयो ।’

चीनले आफ्ना नक्सा नेपाललाई उपलब्ध गराएपछि ‘चीनले सगरमाथामाथि चीनले दावी गरेको छ’ भन्ने कुराको प्रचार भयो । यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समेत समाचारको विषय बनाए । चीनले सगरमाथामाथि  दावी गरेको भन्दै ८ बैशाख २०१७ मा काठमाडौँमा विरोध प्रदर्शन समेत भएको थियो । नेपाल–चीन सीमाना सम्झौता हुनुअघि सगरमाथाको स्वामित्वबारे दुई देशबीच कुनै विवाद थिएन । नेपाल र तिब्बत दुवैतिरबाट सगरमाथा आरोहणको प्रयास भइरहेका थिए । दुवैतिरबाट सगरमाथा आरोहणको प्रयास भइरहेकाले सगरमाथा दुबै मुलुकको हो भन्ने विश्वास थियो ।  

सीमा सम्झौताको क्रममा भएको नक्सा आदानप्रदानपछि स्वामित्व सम्बन्धी मतभेद सिर्जना भयो । तर, त्यसलाई पनि दुबै मुलुकको राजनीतिक नेतृत्वले कुशलता र हार्दिकतापूर्वक समाधान ग-यो । चिनियाँ प्रधानमन्त्री चाउ–एन–लाइको नेपाल भ्रमण (२६–२९ अप्रिल १९६०) का क्रममा सगरमाथाको स्वामित्व सम्बन्धी मतभेद अन्त्यका लागि नयाँ समझदारी निर्माण गरे । नयाँ समझदारी अनुसार नेपाल–चीन सीमा कमिटीले सगरमाथा बाहेकको क्षेत्रको सीमा निर्धारण गर्ने र त्यसपछि प्रधानमन्त्रीद्वयको पत्राचारबाट सगरमाथाबारेको समस्या समाधान गर्ने’ भन्ने सहमति थियो ।

प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ प्रधानमन्त्री चाउ–एन– लाईबीच यो सहमति भएपछि १६ बैशाख २०१७ (२८ अप्रिल १९६०) का दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री चाउ–एन–लाईले ‘चीनले सगरमाथामाथि दावी नगरेको’ बताएका थिए । उनले भनेका थिए, ‘चीनको नक्सामा सगरमाथा चीनतिरै पर्दछ । तर, श्री ५ को सरकारले प्रस्तुत गरेको नक्सामा सगरमाथा चीन–नेपाल सीमानामा पर्दछ । किन्तु, चीनले नेपालको प्रस्तावलाई स्वीकार गरी सगरमाथाको टापुको दक्षिणी भाग नेपाल र उत्तरी भाग चीनको हुनुपर्छ भनेको हो । सगरमाथा दुई देशको मतभेदको विषय नभई दुबै देशलाई जोड्ने एक मैत्री चिन्हमा रहने कुरा नेपालका नेताहरुको छलफलपछि मलाई विश्वास भएको छ । सगरमाथाको कुरा सीमा कमिटीमा जाने छैन ।’



0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x