२७ श्रावण २०८३, बुधबार

चीनको नाका बन्द भारत तर्फको बाटो भएर समान ल्यान लागे ब्यापारी

एसीपी संवाददाता

२९ चैत्र २०७७, आईतवार ०४:०२ मा प्रकाशित

तातोपानी र रसुवागढी नाका खुल्ने र बन्द हुने ठेगान नभएकाले दक्षिणतिरकै नाका रोज्न बाध्य

काठमाडौँ — व्यवसायी नारायण घिमिरेले चीनसँग जोडिएको तातोपानी र रसुवागढी नाका छाडेर भारतको कोलकाता बन्दरगाहबाट सामान आयात गर्न थालेको पाँच वर्ष बितेको छ ।

तातोपानी नाकाबाट दुई दशक आयात व्यापार गरेका उनी उत्तरतर्फ मात्र भरपर्दा व्यवसायीले निकै ठूलो नोक्सानी व्यहोर्नुपरेको सुनाउँछन् । उत्तरी नाकाबाट आयात व्यापार सहज हुन्छ भन्ने उनको विश्वास नै टुटेको छ ।

डेढ दशकदेखि तातोपानीबाट व्यवसाय गर्दै आएका नृप अधिकारीले पनि आयात व्यापारलाई दक्षिणी नाकामा केन्द्रित गरेका छन् । उनले आगामी जाडोयामका लागि चीनबाट झिकाउने सामानसमेत भारत हुँदै ल्याउने निर्णय गरेका छन् । चीनसँग जोडिएका नाकामा निर्भर हुँदा गत वर्ष लाखौं रुपैयाँ नोक्सानी व्यहोरेको उनले सुनाए ।

भूकम्प, बाढीपहिरो र कोभिडको बहानामा चीनले नेपाल जोडिएको नाकाबाट हुने आयात–निर्यात व्यापारमा कडाइ गरेपछि दक्षिणतर्फ भर पर्न बाध्य भएका घिमिरे र अधिकारी प्रतिनिधि व्यवसायी हुन् । व्यवसायीहरू चीनबाट हुने झन्डै ८० प्रतिशत व्यापार दक्षिणी बन्दगाहतर्फ ‘डाइभर्ट’ भएको अनुमान गर्छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलका अनुसार उत्तरी नाका प्रयोग गर्ने/नगर्ने सम्बन्धमा धेरै व्यापारी अन्योलमा छन् । उनले १० देखि १५ प्रतिशत व्यापारीले मात्र तातोपानी र रसुवाबाट सामान आयात गरिरहेको बताए । सामान्य अवस्थामा चीनबाट हुने व्यापारको ३५ प्रतिशत हिस्सा दक्षिणी नाकाबाट हुने गरेको अनुमान गरिँदै आएको थियो । भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले आयातको बाटो डाइभर्ट भए पनि त्यसको हिस्सा यकिन नभएको बताए । उनले उत्तरी नाकाबाट हुने व्यापार सहज बनाउने एजेन्डामा आफूहरू केन्द्रित भएको दाबी गरे ।

वर्षौंदेखि चीनमा बस्दै आएका नेपालीले अझै नेपालबाट उता जान पाएका छैनन् । बजारमै पुगेर सामान अर्डर गर्ने व्यवसायीलाई चीन जान अनुमति दिइएको छैन । उता जानै नपाउँदा सामान अर्डर गर्न कठिन भएको व्यवसायीको भनाइ छ । अर्कातर्फ उत्तरी स्थलमार्गबाट हुने व्यापारिक कारोबार भरपर्दो र विश्वासिलो छैन । त्यसैले अहिले तातोपानी र रसुवागढी नाकाबाट हुने आयात ह्वात्तै घटेको छ । चीनसँगको निर्यात व्यापार भने ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ ।

चीनसँग जोडिएका यी दुई नाकालाई मुलुकमा असजिलो पर्दा सहयोग पुग्ने वैकल्पिक मार्गका रूपमा हेरिने गरे पनि यो वा त्यो बहानामा सहज रूपमा सञ्चालन गरिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल २०१६ मार्चमा चीनसँग व्यापार तथा पारवहन सम्झौता भएपछि आयात व्यापारका लागि दक्षिणको एकलौटी वर्चस्व नरहने अनुमान गरिएकामा व्यवहारमा त्यस्तो अवस्था देखिएको छैन । भूकम्पपछि भारतले अघोषित नाकाबन्दी गरेका बेला तातोपानी नाका लगातार चार वर्ष बन्द रहेको थियो ।

कोभिड महामारीका बेला भारतबाट आयात व्यापार रोकिएन । चीनबाट हुने कारोबार भने एक वर्षसम्म रोकियो । सयौं कन्टेनर स्याउ ढुवानी हुन नसकेरी कुहिए । चीनका विभिन्न सहरमा रहेका गोदाम र बाटोमा व्यापारिक सामान काम नलाग्ने अवस्थामा पुगे । वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले व्यापारीहरू तातोपानी र रसुवागढीबाट सामान आयात गर्न हिच्किचाइरहेको बताए । संघले मंगलबार व्यापार सहजीकरणको माग गर्दै रसुवा प्रशासन र भन्सारलाई लिखित सुझाव दिएको छ । ‘आयात व्यापारको परिमाण बढाउन पनि आग्रह गरेका छौं,’ श्रेष्ठले भने ।

अहिले तिब्बतको केरुङबाट रसुवागढी नाका भएर दिनमा १२ देखि १५ वटासम्म नेपाली कन्टेनरमा व्यापारिक सामान भित्रिने गरेको छ । विगतमा दिनमा सयौं कन्टेनर सामान उक्त नाकाबाट भित्र्याइन्थ्यो । पछिल्लो समय भने उक्त नाका कहिले खुल्ने र कहिले बन्द हुने भइरहेको छ ।

रसुवागढी भन्सार प्रमुख रामप्रसाद रेग्मीले व्यवसायीहरू दक्षिणी नाकामा लागेपछि राजस्व संकलन निराशाजनक रहेको बताए । चालु वर्षको राजस्व संकलन लक्ष्य ११ अर्ब ३३ करोड रहेकामा गत महिनासम्म २ अर्ब ९ करोड रुपैयाँ संकलन भएको छ । यहीअनुसार संकलन भए लक्ष्यको ३० देखि ४० प्रतिशत मात्र राजस्व संकलन हुने अनुमान भन्सारको छ । उक्त नाकामा गत आर्थिक वर्षमा ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । ‘उत्तरी नाकाका व्यवसायी दक्षिण लागेकाले राजस्व संकलन घटेको हो,’ भन्सार विभाग अनुगमन शाखाका निर्देशक पुण्य खड्काले भने ।

तातापानी नाकाबाट हुँदै आएको आयात व्यापार त्यसैगरी घट्दै गएको छ । तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार चीनबाट भित्रिने कन्टेनरको संख्या बढ्दै गए पनि बहुमूल्य व्यापारिक सामानको आयात घटेकाले राजस्व संकलन कम भएको छ । ‘व्यापारीले यो नाकालाई उति विश्वास गरेनन्,’ खत्रीले भने, ‘उनीहरू दक्षिणी नाकातिर गए ।’ पछिल्लो समय उक्त नाकाबाट रासायनिक मलको आयात भइरहेको छ । चालु वर्षमा यो नाकाको राजस्व लक्ष्य ५ अर्ब ४७ करोड रहेकामा करिब १ अर्ब रुपैयाँमात्र संकलन हुने अनुमान रहेको खत्रीले जानकारी दिए । हालसम्म ६६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । उक्त नाकाबाट गत आर्थिक वर्षमा १ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

स्रोतका अनुसार विभागले राजस्व संकलनको लक्ष्य परिवर्तन गर्ने तयारी गरेको छ । तातोपानीबाट मात्र आर्थिक वर्ष २०७२/७३ सम्म वार्षिक करिब २० अर्बको आयात र पौने तीन अर्बको निर्यात व्यापार हुँदै आएको थियो । रसुवा नाका भने २०७२ मंसिरबाट बढी चल्तीमा आएको हो । उक्त नाकालाई तातोपानीको विकल्पमा हेरिएको थियो ।

जोखिम किन  ?

नाका जतिबेला पनि खुल्ने र बन्द हुने भएपछि व्यवसायी उत्तरी नाकाबाट सामान आयात गर्न डराएका हुन् । तातोपानी नाकाका व्यापारी तथा सीमापारका सचिव रामचन्द्र पराजुली सामान अर्डर गरे पनि नाका कति बेला बन्द हुन्छ यकिन नहुने भएपछि अविश्वास बढेको बताउँछन् । दक्षिणी नाकाबाट सामान आयात गर्दा दुई महिना लाग्ने गरेको छ । उत्तरी नाकाबाट भने १० देखि १५ दिनसम्ममा भित्रिन्छ । सचिव पराजुलीले भने, ‘समय धेरै लाग्ने भए पनि नेपाल भित्रिने ग्यारेन्टी भएकाले दक्षिणी नाका व्यापारीको रोजाइमा परेको छ ।’

कोभिडको कारण देखाउँदै १५ महिनाअघि अर्डर गरेको सामान नेपाल भित्रिन नदिइँदा सयौं व्यवसायीले पेसा नै छाडेको पराजुलीले सुनाए । उनले उत्तरी नाकाबाट आयात गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । तातोपानी र रसुवागढी नाका नियमित सञ्चालन नहुँदा चीनका विभिन्न सहरबाट आयात गरिएका सामान वीरगन्ज, विराटनगर, भैरहवा, काँकडभिट्टालगायत भन्सारबाट भित्र्याइने गरेको छ ।

कन्टेनर प्रवेश निषेध यथावत्

आयात गरिएका सामानको कन्टेनर चीनले रसुवाको मितेरी पुलमा खसाल्ने गरेको छ । चिनियाँ कन्टेनरले खसालेको सामानलाई नेपाली कन्टेनरले लोड गरेर भन्सार यार्डमा भित्र्याउँछन् । व्यवसायी घिमिरेका अनुसार सामानको सुरक्षा नहुने जोखिम सबैभन्दा धेरै देखिएको छ । ‘केही महिनाअघिसम्म केरुङबाट मितेरी पुलसम्मको करिब ३० किमिको ढुवानी भाडा १० लाखसम्म लिन थालेपछि व्यवसायी झन् भड्किए,’ घिमिरेले भने, ‘व्यापारी दक्षिणी नाका जान बाध्य भए ।’ अहिले दुवै नाकामा नेपाली चालक, मजदुर र व्यवसायीलाई प्रवेश निषेध छ । ‘चिनियाँ कन्टेनरले जुन अवस्थामा सामान ल्याउँछन्, त्यसैलाई मान्नुपर्ने अवस्था छ,’ उनले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x