चीनको दादागिरी कायम ताइवानको स्वशासित टापु नजिकै विमान पठाएर शक्ति प्रदर्शन
१६ गते असोज २०७८ शनिबार । ताइपेइ — जनवादी गणतन्त्र चीन स्थापना दिवसकै दिन चीनले २५ वटा सैन्य विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा पठाएको भन्दै ताइवानले आपत्ति जनाएको छ । चीनले शुक्रबार ताइवानको स्वशासित टापु नजिकै विमान पठाएर शक्ति प्रदर्शन गरेको भन्दै ताइवानले आपत्ति जनाएको छ ।
चीनले भने यस क्षेत्रलाई आफ्नै क्षेत्र भएको दाबी गर्दै आएको छ । बेलायतले ताइवानमा दुई युद्धपोत पठाएको आरोप लगाएकै साता चीनले फेरि ताइवानमा २५ सैन्य विमान पठाएको हो ।
ताइवानको रक्षा मन्त्रालयले चीनले २२ लडाकु, दुई परमाणु बमवर्षक र एक पनडुब्बी विरोधी विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको जनाएको छ । चीनले यसअघि पनि पटक–पटक ताइवानको रक्षा क्षेत्रमा युद्ध विमान पठाइसकेको थियो । गत साता ताइवानले ट्रान्स प्यासिफिक व्यापार सम्झौतामा समावेश हुन आवेदन दिएपछि चीनले आफ्ना २४ विमान ताइवानको क्षेत्रमा पठाएको थियो ।
चिनियाँ नेताहरुले ताइवानलाई एक दिन कब्जा गर्ने प्रतिक्रिया दिँदै आएका छन् । आवश्यक परेमा बलपूर्वक कब्जा गर्ने उनीहरुले बताउँदै आएका छन् । २०१६ मा ताइवानमा राष्ट्रपति निर्वाचनपछि चीनलाई दबाब बढ्न थालेको बताइन्छ । ताइवानका राष्ट्रपति साइ इङ वेनसहित नेताहरुले चीनबाट स्वतन्त्र भएको प्रतिक्रिया दिन थालेपछि चीनले यस क्षेत्रमा थप गतिविधि बढाउँदै आएको छ ।
विशेषगरी चीनले ताइवानको क्षेत्रमा विमान पठाउने क्रम बढाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार गत वर्षमात्रै ३८० वटा चिनियाँ विमान ताइवानको रक्षा क्षेत्रमा प्रवेश गरेका थिए । यस वर्ष भने ९ महिनामै उक्त अघिल्लो वर्षको संख्या पार गरिसकेको छ । ताइवानमाथि चिनियाँ गतिविधिलाई लिएर अमेरिकाले भने चीनको आलोचना गर्दै आएको छ । एजेन्सीहरु बाट


