१२ आश्विन २०८३, सोमबार

चीनमा कोरोना भाइरसलाई अझ बढी सङ्क्रामक र घातक बनाउन अमेरिकाको पैसा खर्च ?

एसीपी संवाददाता

३२ श्रावण २०७८, सोमबार ०२:५३ मा प्रकाशित

कोरोनाभाइरसको उत्पत्तिबारे बहस चलिरहँदा चीनमा अमेरिकी कोष खर्च गरेर सञ्चालित भाइरस अनुसन्धानबारे चर्को राजनीतिक विवाद उत्पन्न भएको छ।

उक्त विवादको सम्बन्ध एउटा अप्रमाणित मान्यतासँग छ जसअनुसार कोरोनाभाइरस चीनको वुहान सहरमा अवस्थित एउटा प्रयोगशालाबाट चुहिएको हुनसक्ने ठानिन्छ।

चमेरामा कोरोनाभाइरसको अनुसन्धान गरिरहेको वुहान इन्स्टिट्यूट अफ भाइरलजी यस विवादको केन्द्रबिन्दुमा छ।

रिपब्लिकन सांसदहरूले जारी गरेको एउटा प्रतिवेदनमा उक्त प्रयोगशालामा मानिसलाई सङ्क्रमण गर्न सक्नेगरी कोरोनाभाइरसमा परिवर्तन गर्ने काम गरिएको “पर्याप्त प्रमाण” भएको दाबी गरिएको छ। उनीहरूले कोरोनाभाइरसको उत्पत्तिबारे द्विपक्षीय अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

रिपब्लिकन सिनेटर र्‍यान्ड पोलले चीनमा भाइरसहरूलाई अझ बढी सङ्क्रामक र घातक बनाउन अमेरिकाको पैसा खर्च गरिएको आरोप लगाएका छन्।

उनले इङ्गित गरेको वैज्ञानिक प्रक्रियालाई “गेन-अफ-फङ्शन” भनिन्छ।

तर त्यस्तो दाबीलाई अमेरिकी सङ्क्रामक रोग प्रमुख डा. एन्थोनी फाउचीले खण्डन गरेका छन्।

‘गेन-अफ-फङ्शन ‘ कस्तो अनुसन्धान हो?

‘गेन-अफ-फङ्शन’ भनेको कुनै जीवले नयाँ क्षमता वा गुण विकास गर्नु हो।

त्यस्तो क्षमता यो प्रकृतिमा वा प्रयोगशालामा हासिल हुन सक्छ। त्यसका लागि वैज्ञानिकहरूले जीवको आनुवंशिक संरचना परिवर्तन गरिदिन्छन् वा तिनलाई फरक परिस्थितिमा राखिदिन्छन्।

लामखु्ट्टे
तस्बिरको क्याप्शन,औलो नियन्त्रण गर्न जीवमा गरिने परिवर्तन उपयोगी हुन सक्छ

उदाहरणका लागि वैज्ञानिकहरूले सुक्खा खप्ने वनस्पति बनाउन वा रोगकारक कीटाणुमा परिवर्तन गरिदिएर लामखुट्टेको सङ्क्रमण सार्ने क्षमता घटाउन यो विधि प्रयोग गर्न सक्छन्।

मानिसलाई हानि गर्न सक्ने भाइरसमा परिवर्तन गर्दा ती भाइरस अझ सङ्क्रामक र घातक बनिदिन सक्छन्।

तर भविष्यमा हुने प्रकोप र महामारीविरुद्ध तयार हुन सकिने भन्दै वैज्ञानिकहरूले जोखिमपूर्ण अनुसन्धानको औचित्य पुष्टि गर्न खोजेका छन्।

अनुसन्धानबाट भाइरसहरू कसरी विकसित हुन्छन् भन्ने थाहा पाई परिष्कृत उपचारविधि र खोप बनाउन सकिने उनीहरूको तर्क छ।

वुहान इन्स्टिट्यूट अफ भाइरलजी
तस्बिरको क्याप्शन,प्रयोगशालाबाट भाइरस चुहिएको दाबीको केन्द्रबिन्दुमा वुहान इन्स्टिट्यूट अफ भाइरलजी छ

के अमेरिकाले चीनमा भाइरस अनुसन्धानमा पैसा खर्च गरेको छ?

हो, अमेरिकाले केही रकम दिएको छ।

राष्ट्रपति बाइडनका सल्लाहकार पनि रहेका डा. फाउची अमेरिकाको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एण्ड इन्फेक्शस डिजीजेज (एनआईएआईडी)का निर्देशक हुन्।

उक्त संस्था अमेरिका सरकारको न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ (एनआईएच) को एउटा अङ्ग हो।

उक्त निकायले केही रकम वुहान इन्स्टिट्यूट अफ भाइरलजीसँग सहकार्य गरेको एउटा संस्थालाई दिएको छ।

सिनेटर र्‍यान्ड पोल
तस्बिरको क्याप्शन,अमेरिकाले उपलब्ध गराएको रकम खतरनाक भाइरसहरू बनाउन प्रयोग गरिएको सिनेटर र्‍यान्ड पोलको धारणा छ

अमेरिकामा रहेको इकोहेल्थ अलायन्स नामक उक्त संस्थालाई सन् २०१४ मा चमेराबाट फैलिने सम्भावित कोरोनाभाइरसको अध्ययनका लागि अनुदान दिइएको छ।

इकोहेल्थले ३७ लाख अमेरिकी डलर एनआईएचबाट लिएकोमा छ लाख डलर वुहान इन्स्टिट्यूट अफ भाइरलजीलाई दिएको थियो।

सन् २०१९ मा उक्त काम थप पाँच वर्षका लागि लम्ब्याइयो। तर ट्रम्प प्रशासनले महामारीको बेला त्यसलाई सन् २०२० को एप्रिलमा रद्द गर्‍यो।

के त्यो पैसा ‘गेन-अफ-फङ्शन’ अनुसन्धानका लागि प्रयोग भयो?

मे महिनामा डा. फाउची एनआईएचले “न कहिल्यै दिएको न त अहिले गेन-अफ-फङ्शन अनुसन्धानका लागि वुहान इन्स्टिट्यूटलाई पैसा दिने” बताएका थिए।

सिनेटर पोलले डा. फाउचीलाई हालै उनले उक्त भनाइ फिर्ता लिन चाहन्छन् कि भनेर सोधेका थिए।

सिनेटर पोलले भनेका थिए, “तपाईँलाई थाहै छ कङ्ग्रेससामु झुटो बोल्नु भनेको अपराध हो।”

सिनेटर पोलले सो अनुसन्धान “गेन अफ फङ्शन” का लागि भएको मानिने भन्दै चिनियाँ इन्स्टिट्यूटको नाममा सन् २०१५ र सन् २०१७ मा प्रकाशित दुई शोधपत्रलाई उद्धृत गरेका छन्।

कोरोनाभाइरसबाट सङ्क्रमित मानवकोष
तस्बिरको क्याप्शन,कोरोनाभाइरसबाट सङ्क्रमित मानवकोष

सन् २०१५ को शोधपत्र यूनिभर्सिटी अफ नोर्थ क्यारलाइनासँगको सहकार्यमा तयार पारिएको थियो।

सो धारणालाई सही मान्ने र सिनेटर पोलले उद्धृत गरेका वरिष्ठ व्यक्तिमा रट्गर्स यूनिभर्सिटीका प्राध्यापक रिचर्ड एब्राइटले पनि छन्।

प्राध्यापक एब्राइटले बीबीसीसँगको कुराकानीमा दुवै शोधपत्रले नयाँ भाइरसहरू (जुन प्राकृतिक रूपमा अस्तित्वमा छैनन्) बनाइएको देखाएको तथा ती “नयाँ सम्भावित रोग गराउने कारक बन्ने जोखिम’ भएको बताएका छन्

उनले भने, “दुवै शोधपत्रमा उल्लिखित अध्ययन ‘गेन अफ फङ्शन’का हुन्।”

उनका अनुसार सन् २०१४ मा जैविक सुरक्षाका चासोका कारण त्यस्ता अध्ययनलाई पैसा दिन बन्द गर्ने निर्णय गर्दा अमेरिकी सरकारले परिभाषा गरेको अनुसन्धानमा उक्त अध्ययन पनि पर्छ।

फाउचीले किन आरोप अस्वीकार गरेका हुन्?

डा. फाउचीले माथिल्लो सदन सिनेटको सुनुवाइका क्रममा उक्त अध्ययन “गेन-अफ-फङ्शनको परिभाषाभित्र नपर्ने निश्चित गर्न धेरै पटक सक्षम व्यक्तिहरूबाट मूल्याङ्कन गरिएको” बताए।

उनले ती भाइरसहरू कोरोनाभाइरस बन्न “आणविक रूपमा असम्भव” भएको बताए तर त्यसलाई थप व्याख्या गरेनन्।

एनआईएच र इकोहेल्थ अलायन्सले पनि आफूहरूले चीनमा “गेन-अफ-फङ्शन” अध्ययनका लागि सघाएको वा पैसा दिएको भनाइलाई अस्वीकार गरेका छन्।

उनीहरूले पैसा दिइएको परियोजनालाई आफूहरूले “आणविक तहमा” हेरेको, हालै पत्ता लागेका चमेराका भाइरसहरू र तिनका स्पाइक प्रोटीनले वातावरणमा कुनै प्रभाव नहुने तथा तिनको विकास वा जैविक क्रिया अवस्थालाई प्रभाव नपार्नेगरी गरेको जनाएका छन्।

चमेराको भाइरसबारे सन् २०१५ मा वुहान इन्स्टिट्यूटसँग मिलेर काम गरेका यूनिभर्सिटी अफ नोर्थ क्यारलाइनाका एक अमेरिकी वैज्ञानिक डा. राल्फ बरिकले द वाशिङ्टन पोस्ट पत्रिकालाई एउटा विस्तृत वक्तव्य दिएका छन्

उनका अनुसार एनआईएच र विश्वविद्यालयका भिन्नाभिन्नै जैविक सुरक्षा समिति दुवैले आफ्नो कामको समीक्षा गरेका थिए।

त्यस क्रममा “गेन-अफ-फङ्शनमा पर्न सक्ने सम्भावना हेर्दा त्यस्तो नदेखिएको” उनको भनाइ छ।

उनले सन् २०१५ को अध्ययनको विषय गरिएका कुनै पनि भाइरस सन् २०२० मा महामारी निम्त्याउने सार्स-कोभ-२ सँग सम्बन्धित नभएको बताए।

उनले आफ्ना कामका भाइरसहरूको “आधारभूत गुण” ‘ मानिसलाई सङ्क्रमित पार्ने क्षमताको भएको स्वीकार गरे।

तर उनले भने, “हामीले कहिल्यै मानवकोषमा बढ्नेगरी भाइरसमा उत्परिवर्तन गराएनौँ।”बिबिसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x