२ श्रावण २०८३, शनिबार

जननायक वीपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा बृक्षारोपण

लक्ष्मी चौधरी

१२ श्रावण २०८१, शनिबार १४:०६ मा प्रकाशित<

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले बृक्षारोपण गरेको छ । क्षेत्रीय कार्यसमितिको आयोजनामा आज नेपालगञ्जस्थित मंगल प्रसाद मावि प्रांगणमा बृक्षारोपण गरिएको हो । क्षेत्रीय सभापति रमेश कुमार गुप्ताका अनुसार नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा मंगल प्रसाद मावि र इको स्मार्ट क्लब नेपालगञ्जसंगको सहकार्यमा विद्यालय प्रांगणमा विभिन्न प्रजातिका ४७ वटा विरुवा रोपिएको छ । जामुन, निम, मोरिन्गा, बेल, सिसौ निलो आदि प्रजातिका विरुवा रोपिएको हो ।

बृक्षारोपण अघि आयोजित उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले महामानव वीपी कोइरालाको आदर्शलाई पछ्याइरहन सके कांग्रेस सधैं अग्रणी, जीवन्त र लोकप्रिय पार्टी भइरहने विचार ब्यक्त गरेका थिए । क्षेत्रीय सभापति गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले वीपी एक विचार भएकाले उनको आदर्श कांग्रेस र समग्र मुलुकका लागि अनुकरणीय रहेको बताए । राष्ट्रियसभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले वीपीको आदर्शलाई नपछ्याउँदा बेला बेलामा कांग्रेस धर्माराइरहेको विचार ब्यक्त गरे ।

कार्यक्रममा जिल्ला सचिव सुधांशु कोइराला, कांग्रेस नेता एवम् लुम्बिनी सरकारका पूर्व मन्त्री सुरेन्द्र हमाल, मंगल प्रसाद माविका प्रधानाध्यापक सन्ध्या गुप्ता लगायतले बृक्षारोपण अति सराहनीय कार्य भएको बताए । क्षेत्रीय सभापति गुप्ताले वातावरण संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउन हरित क्षेत्र निर्माणका लागि नेपाली राजनीतिका एक आदर्श ब्यक्तिको स्मृति दिवसको सन्दर्भ पारेर बृक्षारोपण कार्यक्रम गरिएको बताए । क्षेत्रीय सचिव सुनिलसिंह हमालले सञ्चालन गरेको कार्यक्रममा सहसचिव तरुण बज्राचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x