१२ मंसिर २०८३, शुक्रबार

जसपा नेपालको रिटमा आज सुनुवाइ हुँदै

एसीपी संवाददाता

७ जेष्ठ २०८१, सोमबार ०८:४७ मा प्रकाशित

जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा मतदानमा र अरु संसदीय गतिविधिमा पनि रोक लगाउन रिटमा माग गर्दै अध्यक्ष यादवले आइतबार रिट दायर गरेका थिए ।

आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर गरेका छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार यो रिटमा आज सुनुवाइ हुने छ ।

यसअघि यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको थियो ।

जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।

जसपा नेपालले नयाँ पार्टी गठन गरेका सात सांसदलाई विश्वासको मतको प्रक्रियामा सहभागी गराउन नमिल्ने भन्दै सभामुखलाई पत्रसमेत पठाएको छ ।

सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेउपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि संसदीय समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने चेतावनी दिएको छ । त्यसको रणनीति बनाउन कांग्रेसले आज बिहान संसदीय दलको बैठकसमेत बोलाएको छ । अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x