१२ मंसिर २०८३, शुक्रबार

जुन दिन राम मन्दिर बनाउने घोषणा भयो तेसै दिन प्रधानमन्त्रीबाट हटाइए

एसीपी संवाददाता

३० असार २०७८, बुधबार ०१:३४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले अधिक न्यायिक सक्रियता देखाएर हटाएको छ । ओलीले भनेजस्तै इतिहासमै पहिलोपटक प्रधानमन्त्रीको नियुक्ति र हटाउने काम अदालतबाट आएको छ । अदालतले हटाउँदा एउटा संयोग के भयो भने भानु जयन्तीको दिन पर्यो । यहीँ दिन अघिल्लो वर्ष प्रधानमन्त्री ओलीले भगवान राम नेपालमा जन्मिएको भन्दै चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर निर्माणको घोषणा गरेका थिए ।

उत्तर प्रदेशको अयोध्यामा भारतले राम मन्दिर बनाउन शिलान्यास गरेका बेला त्यसलाई नक्कली जन्मस्थल भन्दै ओलीले भारतलाई नै चुनौती दिँदै उक्त घोषणा गरेका थिए । त्यसपछि ओलीले राम मन्दिरको शिलान्यास नै गरेर निर्माण कार्य अघि बढेको छ । तर त्यसको ठिक एक वर्षपछि ओली अदालतको अधिक न्यायिक सक्रियाले पदबाट हट्न बाध्य भएका छन् ।

जनादेशबाट निर्वाचित प्रधानमन्त्री ओली परमादेशबाट हट्नुपरेको छ । त्यो पनि मन्दिर निर्माणको उदघोष गरेको ठ्याक्कै वर्ष दिनपछि । त्यसो त पछिल्लो समय प्रधानमन्त्री ओलीले धार्मिक झुकाव राखेका थिए । राम मन्दिर निर्माण, पशुपति मन्दिरको दर्शन, ज्वलहरी राख्ने निर्णयले आफूलाई परिवर्तनकारी भन्ने युरोपियन युनियनको चम्चा बनेको राजनीतिक समूह चिढिएको थियो । राजनीतिक चम्चामात्रै होइन आफूलाई अभियन्ता भन्ने, समाजसेवी भन्ने चम्चाहरु पनि उतिकै सक्रिय भएका थिए ओलीविरुद्ध ।

युरोपियन युनियनको प्रभाव अदालतमा पनि रहेको बताइन्छ । अरु चम्चाहरुले हटाउन नसकेपछि अदालतको साहारा लिएर हटाइएको आशंका विभिन्न वृत्तमा छ । ओलीले जनभावना विपरीत परिवर्तनका नाममा जबरजस्ती लादिएको पश्चिममाहरुको एजेण्डालाई ठाडो चुनौती दिएका थिए । धर्म निरपेक्षता र संघीयता जो जनभावना भन्दा विदेशीको स्वार्थमा आयातित एजेण्डा थिए तिनलाई प्रत्यक्ष अप्रत्यक्ष चुनौती दिएर जनभावनाको कदर गर्न खोजेका थिए । तर यसलाई परिवर्तनसँग जोडेर विरोध गर्न सबै लागेका थिए । तर नसकेपछि अहिले हटाउने निर्णायक ठाउँ बन्यो अदालत ।

अदालतको फैसला कति स्वतन्त्र छ त्यो भोलिका दिनमा पुष्टि हुँदै जानेछ । संवैधानिक इजलासले संविधान र कानुन मात्र हेर्न होइन, जनभावनालाई पनि ख्याल गर्नैपर्छ । तर आफै युरोपियन युनियनबाट प्रभावित अदालतका न्यायमूर्तिबाट स्वतन्त्र र निष्पक्ष फैसलाको आशा गर्न सोच्नुपर्ने बेला आएको छ । जे होस् यो एक वर्षलाई मूल्यांकन गर्दा प्रधानमन्त्री ओली अन्य गतिविधिभन्दा धर्म र जनभावनाविपरीतको संविधानलाई करेक्सन गर्न खोज्दाको परिणाम हो अदालतको फैसला । जसले जति नै सुशासनको कुरा गरे पनि यो लडाई विदेशी एजेण्डामा बनेको संविधान करेक्सन गर्ने र यथास्थितिमा राख्ने लडाई हो ।

जसमा यथास्थितिमा राख्ने अर्थात विदेशी एजेण्डा कायमै राख्ने शक्ति विजय भएको छ । धर्म संस्कृति जोगाउने, जनभावना सम्बोधनको प्रयास गर्ने राजनीतिक शक्तिलाई अधिक न्यायिक सक्रिया देखाएर पराजित गरिएको छ । यसको मूल्यांकन इतिहासको कडीमा हुनेनै छ । तर प्रधानमन्त्री ओलीका लागि यो संयोग भयो कि उनले धर्म जोगाउने कसम खाएकै दिनको वर्षदिनपछि ठ्याक्कै पद गुमाउनुपरयो । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x