११ भाद्र २०८३, बिहीबार

जेन–जी आन्दोलनलाई संस्थागत रूप दिन आयोजित संयुक्त बैठकबाट ढुङ्गानालाई संयोजक चयन

एसीपी संवाददाता

६ पुष २०८२, आईतवार ०७:५० मा प्रकाशित

जेन–जी आन्दोलनलाई संस्थागत रूप दिने उद्देश्यसहित आयोजित संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन गरेको छ। ललितपुरको झम्सिखेलमा बसेको उक्त बैठकमा ३० भन्दा बढी जेन–जी समूहका प्रतिनिधि, आन्दोलनमा सहभागी घाइतेहरू तथा सहिद परिवारका सदस्यसहित १०० भन्दा बढीको उपस्थिति रहेको आयोजकहरूले बताएका छन्।

बैठकले आन्दोलनलाई सुदृढ र प्रभावकारी बनाउने लक्ष्यसहित कार्यकारी समिति विस्तारका लागि मिरज ढुङ्गाना, अजय सोडारी र सुनिल सिंहलाई जिम्मेवारी दिएको छ। साथै, सल्लाहकार संयोजकको भूमिकामा हरिश भट्टलाई चयन गरिएको छ। नयाँ संरचनामार्फत संगठनात्मक समन्वय बढाउने र आन्दोलनका मागहरूलाई संस्थागत ढङ्गले अघि बढाउने निर्णय गरिएको छ।

संयुक्त बैठकले वर्तमान सरकारले आन्दोलनको भावना र मागअनुसार काम नगरेको आरोप लगाएको छ। सहभागीहरूले जेन–जी आन्दोलनविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै सरकारलाई अपदस्थ गर्ने चेतावनीसमेत दिएका छन्। उनीहरूको भनाइमा, जनआन्दोलनबाट उठेका मुद्दाहरूलाई बेवास्ता गरिनु लोकतान्त्रिक मूल्यविपरीत हो।

यसैबीच, संयुक्त जेन–जी आन्दोलन समितिले सर्वपक्षीय सहमति, सर्वपक्षीय सरकार गठन तथा संविधान पुनर्लेखन/संशोधनको मागसहित भोलि दिउँसो १ बजे काठमाडौंको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ। पत्रकार सम्मेलनमार्फत आन्दोलनका आगामी कार्यक्रम सार्वजनिक गरिनेछ।

आयोजकहरूका अनुसार, सडकमा रहेका सबै जेन–जी समूह, घाइते र सहिद परिवारलाई समेटेर आन्दोलनलाई व्यापक बनाउने योजना छ। संस्थागत संरचना तय भएसँगै जेन–जी आन्दोलनले माग पूरा गराउन चरणबद्ध कार्यक्रम अघि बढाउने संकेत दिएको छ। हिमापपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x