डेल्टा भेरिअन्टमा देखिएको नयाँ संक्रमणले नेपालमा खतरा
ललितपुरमा खोप लगाउन प्रतीक्षारत एक वृद्धा। पहिलो मात्रा खोप लगाएका लाखौँ नागरिकले दोस्रो मात्रा खोप लगाउन पाएका छैनन्
नेपालमा हालै पुष्टि भएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टमा देखिएको नयाँ उत्परिवर्तनले ल्याउने थप जोखिमबारे अध्ययन र विश्लेषण हुन बाँकी छ।
तर “तत्काललाई यसको असर कम्तीमा डेल्टा भेरिअन्टजस्तो हुन सक्ने” भनेर बुझ्नुपर्ने र सतर्क हुनुपर्ने विज्ञहरूले बताएका छन्।
के४१७एन वा एवाई १ उत्परिवर्तन नेपालसहित अमेरिका, ब्रिटेन, पोर्चुगल, स्विट्जरल्यान्ड, जापान, पोल्यान्ड, रुस र चीनमा देखा परेको छ।
भाइरोलोजिस्ट डा. सुदीप खड्काले एवाई १ लाई ‘मूल भाइरस डेल्टा भेरिअन्ट नै मान्दा समेत त्यसको फैलावट दर उच्च नै रहेको’ बताए।
“यसले गम्भीर खाले रोगहरू निम्त्याउने प्रवृत्ति देखाइसकेको छ। भौगोलिक र सङ्ख्याका हिसाबले धेरै टाढासम्म र चाँडै फैलिएको छ,” अमेरिकाको मिनसोटा राज्यस्थित चिकित्सा अध्ययन संस्थान मेयो क्लिनिकमा कार्यरत डा खड्काले भने।
“डेल्टा भेरिअन्टलाई सबैभन्दा जोखिमयुक्त भनिँदै यदि यही रूपमा फैलँदै गएमा पश्चिमा देशहरूमा समेत यो चिन्ताको विषय हुनसक्ने भनिएको छ।”
लक्षण बेग्लै छ?
विज्ञहरूले भाइरसहरू उत्परिवर्तन हुनुलाई एउटा प्राकृतिक प्रक्रिया बताउँदै त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसकिने बताउँछन्। कुनै-कुनै उत्परिवर्तनले भाइरसको रूप र क्षमतामा तात्त्विक फरक नपार्ने समेत देखिएको छ।
तर कहिलेकाहीँ उत्परिवर्तनकै कारण भाइरस कमजोर हुने वा बलियो भएर नयाँ प्रकोपहरू सिर्जना गर्ने बताइन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च एकाइ प्रमुख डा. शेरबहादुर पुनले यसको मूल नै खतरनाक डेल्टा भेरिअन्ट भएकाले यसलाई थप नजिकबाट नियाल्न आवश्यक रहेको बताउँछन्।
उनी भन्छन्, “यो भर्खर-भर्खर पहिचान भएको छ, अझ खराब नै हुनसक्छ भन्ने पनि होइन। तर यसका सम्भावित जोखिमका प्रमाणहरू हेर्न आवश्यक छ।,
कोभिड नेपाल: ‘अस्पताल लैजान सकेको भए सायद बुवालाई गुमाउनु पर्दैनथ्यो’
ठ्याक्कै यही उत्परिवर्तनको कारण भन्ने कुनै अध्ययन गरिए तापनि लक्षणहरूका हिसाबले नेपालमा उल्लेख्य फरक वा मौलिक घटनाहरू भने नदेखिएको डा. पुन बताउँछन्।
उनी भन्छन्, “नेपालमा भर्ना भएका बिरामीहरू हेर्ने हो भने अहिले पनि सास फेर्न गाह्रो हुनु, खोकी लाग्नु र ज्वरो आउनु नै मुख्य लक्षण हुन्।”
नयाँ भेरिअन्टहरूको विकास हुँदै तिनको फैलावट छिटो र व्यापक रूपमा हुँदा गम्भीर खाले रोग निम्त्याउने र कहिलेकाहीँ अन्य अङ्गमा रोग निकाल्न सक्ने विज्ञहरूको चेतावनी छ।
नेपालमा लक्षणविहीन भन्दा लक्षणसहितका सङ्क्रमितहरू धेरै देखा पर्ने अवस्थादेखि दोस्रो लहर सिर्जना हुँदासम्ममा भएका उत्परिवर्तनहरूबारे अध्ययन हुनुपर्नेमा त्यो नखोतलिएको डा. पुन बताउँछन्।
खोप अभाव: ‘उत्परिवर्तनका लागि अनुकूल’
भाइरसहरू उत्परिवर्तन हुने कारणहरू यही नै हुन् भन्ने स्पष्ट उत्तर कसैसँग नभएको बताइन्छ।
तर तीन प्रतिशतभन्दा कम मानिसले मात्र पूर्ण मात्रामा खोप लगाएको अवस्थाका कारण नेपाल ‘उत्परिवर्तन हुन सक्ने उर्वर भूमि’ भएको विज्ञहरूको मत छ। बिबिसी


