१२ मंसिर २०८३, शुक्रबार

नेपालको तरङित राजनीति

एसीपी संवाददाता

२ असार २०७८, बुधबार ०६:११ मा प्रकाशित

अहिलेको समकालीन नेपाली राजनीतिमा धेरै चर्चा हुने शब्द हो ‘गुटबन्दी’। समय र परिस्थितिले फरक फरक व्याख्या चर्चा गरिएला तर संसारमा गुटबन्दी नहुने क्षेत्र कहीँ पनि देखिँदैन। चाहे सामाजिक संस्था होस् या समाज भित्र वा परिवार भित्र कहीँ स्पष्ट देखिएला कहीँ भित्र भित्र कस्सिएको होला यसको प्रभाव परेकै हुन्छ। नेपालको सन्दर्भमा विशेषगरी राजनीतिक संगठनहरूमा एउटा समूहले अर्को समूहलाई प्रहार गर्ने शब्द होच्याउने शब्द नै गुटबन्दी हो। नेपाली समाजमा गुटबन्दीको वास्तविक अर्थ र यसको व्यावहारिक प्रयोग कसरी भइरहेको छ भन्नेबारे अलिकति आफ्नो विश्लेषण गर्ने कोसिस गरेको छु।

वास्तवमा नेपाली शब्दकोशअनुसार गुट भनेको ‘कुनै खास उद्देश्य लिएर केही व्यक्तिको पक्ष, मत वा स्वार्थका आधारमा बनेको सानो दल वा जमात; पारस्परिक मतभेद वा राग द्वेषको कारणले कुनै ठूलो संगठन वा समूहभित्र तयार भएको सानो संगठन। गुटबन्दी भनेको यही गुट बनाउने क्रिया वा स्थिति भन्ने बुझिन्छ।’ यसरी गुटबन्दीका विभिन्न अर्थ परिभाषा भए पनि समष्टिगतमा गुट भनेको एउटा निश्चित विचार, स्वार्थ, पक्षको आधारमा ठूलो समूह, दल वा संगठनभित्र तयार भएको एउटा समूह हो। अर्थात् मुख्य दल वा संस्थाभित्र रहेको फरक विचार वा फरक स्वार्थ रहेको सानो समूह नै गुट हो र यही गुटलाई परिचालन गर्नु संरक्षण गर्नु र प्रवद्र्धन गर्नु नै गुटबन्दी हो भन्नुमा अत्युक्ति नहोला।

गुटबन्दीको निहित उद्देश्य नै स्वार्थ हो। जब मूल नेतृत्वसँग प्रत्यक्ष रूपमा तर्क, बहस वा मत प्रस्तुत गर्न सकिँदैन, आफ्ना स्वार्थहरू पूरा गराउन सक्दैन र प्रतिशोधको भावना राख्छ। त्यहाँबाटै गुटबन्दीको सुरुआत हुन्छ।

स्वाभाविक रूपमा राजनीतिक दल, सामाजिक संस्था वा समाज वा एउटा परिवारभित्र समेत विभिन्न फरक फरक मत वा विचार वा सोचहरू हुन सक्छन् तर त्यसको निराकरण आआफ्ना विधि पद्धति तथा मान्यता वा परम्पराअनुसार गर्ने गरिन्छ जसले एउटा सकारात्मक परिणाम दिने गर्दछ। जब यस्ता फरक मत वा विचार वा सोचहरू समस्याको समाधान गर्नेतर्फ उन्मुख नभएर नेतृत्वको वा मूल प्रवाहको गतिलाई नियन्त्रण गर्न निहित स्वार्थले निर्देशित गर्ने गर्दछ त्यसले एउटा गुटको धारण गर्दछ। जसले निरन्तर गुटको पक्षपोषणका लागि मात्र काम गर्ने गर्दछ। यस्ता स्वार्थी समूहको गुटबन्दीले राजनीतिमा धेरै चर्चा पाए पनि समाज र घरपरिवारमा भने भुसको आगो जस्तो भित्र भित्र विष फैलाउने काम गरेको देख्न सकिन्छ।

गुटबन्दीको निहित उद्देश्य नै स्वार्थ हो। जब मूल नेतृत्वसँग प्रत्यक्ष रूपमा तर्क, बहस वा मत प्रस्तुत गर्न सकिँदैन, आफ्ना स्वार्थहरू पूरा गराउन सक्दैन र प्रतिशोधको भावना राख्छ। उसले मूल नेतृत्वका सानातिनो कमीकमजोरीहरू खोजेर त्यसलाई अनावश्यक विवादको विषय बनाएर भ्रमहरू सृजना गरेर केही स्वार्थीहरूको आफ्नो समूह बनाउँछ। त्यहाँबाटै गुटबन्दीको सुरुआत हुन्छ। यसरी गुटबन्दी गर्दै जाँदा अन्ततः राजनीतिक दल, संघसंस्थाहरूमा विग्रह भई विभाजनको स्थितिसम्म पुग्न सक्छ भने समाज तथा परिवारभित्र रिस, राग र द्वेष फैलिएर नाता सम्बन्ध टुट्ने अवस्थासमेत सृजना हुन जान्छ। समयको अन्तरालमा पश्चात्ताप गरेर गल्ती कमीकमजोरी सच्चाउनु भन्दा कुनै ठूलो उपलब्धि गुटबन्दी गरेर पाइएको छैन र पाइने पनि छैन।

नेपालको राजनीतिमा अहिले सक्रिय रहेका दलहरू चाहे ठूलो होस् या सानो गुटबन्दीको प्रत्यक्ष प्रभाव नपरेको सायदै होलान्। हरेक ठूला दलहरू गुटबन्दीको कारण विभाजनसमेत भएका छन् र नेपाली राजनीतिमा रहेको आफ्नो वर्चस्वसमेत गुमाउनु परेको हाम्रो इतिहास साँक्षी छ। तथापि चर्को गुटबन्दी अझै पनि नेपाली राजनीतिमा निरन्तर देखिन्छ। चाहे नेतृत्वको व्यक्तिगत स्वार्थ होस या राष्ट्रिय अन्तर्राष्ट्रिय स्वार्थ यस्ता गुटबन्दीहरू राष्ट्रको हितमा छैनन् र हुँदैनन् भन्ने इतिहासदेखि अहिलेसम्म प्रमाणित भइसकेको छ।

नेपालका राजनीतिक दलका नेतृत्वले कहिले पनि पद हस्तान्तरण गर्न नचाहने, विधि विधानहरूमा उमेर वा नेतृत्वको निश्चित अवधि किटान नहुने र किटानी भएकासमेत पालन नगर्ने परिपाटीको कारण नेतृत्वको आकांक्षीहरूले आफू नेतृत्वमा जान आफ्नो पक्षमा जनमत खडा गर्न निश्चित समूह तयार गर्ने, गुटबन्दी गर्नेजस्ता कार्य आवधिक रूपमा गरिने नेतृत्व चयन प्रक्रियामा स्वाभाविक देखिएला। तर त्यही गुटको नाममा टाउका गन्दै सदा संस्थापन पक्षसँग बार्गेनिङ गर्ने र गुटबन्दी गरी रहने कार्य भने राजनीतिक दल तथा कुनै पनि संघसंस्थाका लागि घातक देखिन्छ।

नेपालको सन्दर्भमा २०७५ सालमा माओवादीसँग पार्टी एकता पश्चात् नेकपा देशमा करिब दुई तिहाई जनमत प्राप्त गरेको दल थियो। जसले सरकार सञ्चालनसमेत गरिरहेको थियो। पार्टीमा दुई अध्यक्षको व्यवस्था गरिएको थियो जहाँ संस्थापन पक्ष एउटा देखिएता पनि नेता कार्यकर्ता पंक्तिहरूमा स्पष्ट रूपमा दुई धार देखिन्थे जुन दुई पार्टीको एकता पश्चात् निश्चित समय स्वाभाविक नै थियो। भविष्यमा हुने एकता महाधिवेसनबाट मूलधारमा रूपान्तरित हुने नै थिए। एकता प्रक्रियामा स्पष्ट पारिएका निश्चित विधि र आधारहरू स्वीकार नगर्ने, आन्तरिक कलह, देश र जनताको हितभन्दा राज्य सञ्चालन प्रक्रियामा गुटगत भागबन्डाको राजनीति, समूहगत गुटबन्दी तथा नेतृत्व आकांक्षीबीच चरम पदीय लालसा र संगठनमा आफ्नो वर्चस्व कायम राख्ने होडबाजीका कारण एकता प्रक्रियामा अवरोध भयो।

सोही परिणामस्वरूप नेकपा विघटन हुन गयो। फलस्वरूप सबैभन्दा ठूलो दल हुन गएको नेकपा एमाले निरन्तर गुटबन्दीको मारले अहिले विभाजनको संघारमा पुगेको देखिन्छ भने अन्य सबै राजनीतिक दलहरू अहिले गुटबन्दीको मारमा परेको देखिन्छन्। नेपालमा क्रियाशील राजनीतिक दलहरूमा अहिले चरम गुटबन्दीको मारमा नेकपा एमाले परेको देखिन्छ। देशकै सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले नै हो। उक्त दलको गुटबन्दीको बारेमा विश्लेषण गर्दा केही अगाडि जानुपर्ने हुन्छ। नेकपा एमालेको करिब १५ वर्ष माधव नेपाल प्रमुख जिम्मेवारीमा थिए उनीभन्दा अघि मदन भण्डारीको जनताको बहुदलीय जनवादको कार्यदिशा पार्टीले स्वीकृत गरेपछि नौलो जनवाद पक्षधर सिपी मैनालीको एउटा गुट पार्टीभित्र रहेको थियो।

समयसँगै बहुदलीय जनवादको सफलता हुँदै जाँदा अर्को गुट क्रमशः कमजोर हुन गयो। त्यसपछि २०५२ सालमा महाकाली सन्धिको मुद्दामा मतभेद हुँदा वामदेव गौतमकै नेतृत्वमा एउटा गुट तयार भई अन्ततः पार्टी विभाजन भई माले नामको नयाँ पार्टी दर्ता भयो र पछि विभाजनको पीडा स्वीकार गर्दै छोटो समयमा पार्टी एकता समेत भएको थियो। पार्टी एकताको केही समयसम्म कार्यकर्ता पंक्तिमा एमाले माले पक्षधर फरक धार पटकपटक देखिरहन्थ्यो। जब महाधिवेशन भयो तथापि माले पक्षधरको एउटा गुट रहिरहेको थियो। जब देशमा माओवादी चरम द्वन्द्व चलिरहेको थियो त्यतिबेला केपी ओलीले लिएको अडान र उनको सक्रियताले कार्यकर्ता पंक्तिमा केही ऊर्जा पैदा गर्‍यो। त्यो पंक्ति केपी ओलीलाई नै पार्टीको कार्यकारी पदमा पुर्‍याउन चाहन्थ्यो।

पार्टीमा विशेषगरी महाधिवेशनको समयमा पार्टीले लिने नीति तथा विचारहरूबारे समूह, उपसमूह बनाएर बहस छलफल गर्न खुल्ला नै गरिएको हुन्थ्यो। महाधिवेशन पछि भने यस्ता समूह उपसमूह चलाउन नपाउने नियम नै रहेको थियो। तर पनि यताका केही वर्षमा माधव नेपाल र केपी ओली समूह भनेर दुई गुटमा नेताहरू प्रस्ट विभाजितै भएका देखिन्छन्। वर्तमान सन्दर्भमा निश्चित रूपमा एमाले संस्थापन पक्षबाट कमी कमजोरी भएका होलान्। समस्त कार्यकर्ता पंक्तिलाई खुसी पार्न नसकेका होलान्। त्यस्ता विषय पार्टीमा आन्तरिक बहस छलफल गरेर विधि र पद्धतिअनुसार निराकरण गर्न सकिन्थ्यो।

जुटको सम्भावना हुँदाहुँदै पनि माधव नेपाल र झलनाथ समूह पार्टीका समानान्तर गतिविधि गर्दै संघीय संसद् तथा प्रदेश सभामा पार्टीको हितविपरीत ह्विप उल्लंघन गर्ने, आफ्नै दलको पार्टी अध्यक्ष प्रधानमन्त्री रहेकोमा उसलाई समर्थन नगरी अर्को दलको नेतालाई प्रधानमन्त्री प्रस्ताव गर्नेजस्ता जुन गुटीय हर्कत भए, यस गतिविधिले संसदीय व्यवस्थामा अक्षम्य अपराध हुन पुग्यो। यी सब असंसदीय क्रियाकलाप तथा पटक पटक संसद् विघटन हुनु चरम गुटबन्दीकै परिणाम हो भन्न सकिन्छ। यसर्थ यस्ता गुटबन्दी तथा अन्तरपार्टी संघर्षका क्रियाकलापहरू अन्त्य नगरी कुनै पनि राजनीतिक दलमा एकता कायम हुन सक्दैन र दलको उद्देश्य अनुरूप राजनीतिक सफलता हासिल गर्नसमेत सकिँदैन।

त्यसैले पनि आवधिक निर्वाचन (महाधिवेशन) र विधि विधानको मातहतमा रहेर गरिने निर्णय नै विश्वसनीय आधार हुन्। अहिले नेकपा एमालेमा जुन आन्तरिक एकताका लागि दोस्रो तहका नेताहरू प्रयत्नरत छन् र उनीहरूको सल्लाह सुझावको आधारमा एमाले अध्यक्षबाट पार्टी कार्यकर्ताको भावनालाई कदर गर्दै आफू एक कदम पछाडि हटी एकताको आह्वान भएको छ, त्यो नै अहिलेका लागि एकताको आधार हो। यथासम्भव छिटो महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नुपर्छ। यसरी सबल, सक्षम तथा योग्य नेतृत्व चयन गरी पार्टीका महत्त्वपूर्ण जिम्मेवारीहरूमा गुटगत आधारभन्दा योग्यता र क्षमताको आधारमा जिम्मेवारी प्रदान गर्नु नै दीर्घकालीन रूपमा गुटबन्दी अन्त्य गर्ने सैद्धान्तिक आधार हो। नेतृत्त्वपंक्तिले निहित व्यक्तिगत स्वार्थ त्याग गरी संस्थाको हितलाई सर्वोपरि मान्दा गुटबन्दीको स्वतः अन्त्य हुने देखिन्छ। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x