नेपालगञ्जमा आज ४५ फिट अग्लो रावणको पुतला दहन गरिँदै, रामलीलाको मुख्य आकर्षण
दिनेश ठाकुर नेपालगञ्ज, कात्तिक ४ गते।
बाँकेको नेपालगञ्जमा जारी ऐतिहासिक रामलीला मञ्चनको विशेष आकर्षणका रूपमा रहेको रावण वध कार्यक्रम बुधबार बडादसैँका दिन दिउँसो गरिने भएको छ। नेपालगञ्जस्थित रामलीला मैदानमा दिउँसो १ बजे ४५ फिट अग्लो रावणको विशाल पुतला दहन गरिने श्री रामलीला सञ्चालक समितिले जनाएको छ।
आकर्षक ढङ्गले तयार पारिएको भीमकाय रावणको पुतला दहन कार्यक्रमले दर्शकको विशेष ध्यान खिच्ने अपेक्षा गरिएको छ। असत्य र अधर्ममाथि सत्य र धर्मको विजयको प्रतीकका रूपमा लिइने रावण वध कार्यक्रम अवलोकन गर्न ठूलो सङ्ख्यामा दर्शक उपस्थित हुने अनुमान गरिएको छ।श्री रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडियाले रावण वध कार्यक्रम अवलोकन गर्न सम्पूर्ण नगरवासी, श्रद्धालु भक्तजन तथा सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले ऐतिहासिक रामलीलाको महत्त्वपूर्ण कार्यक्रमलाई सफल बनाउन सबैको सहभागिताका लागि अपिल गरेका हुन्।
नेपालगञ्जको सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलीलाको १५९औँ शृङ्खला असोज २५ गतेदेखि सञ्चालन भइरहेको छ। हरेक दिन साँझ ८ बजेदेखि हुँदै आएको रामलीला मञ्चनमा भगवान् श्रीराम र सीताको जीवनमा आधारित विभिन्न धार्मिक तथा पौराणिक प्रसङ्गलाई नाटकीय रूपमा प्रस्तुत गरिँदै आएको छ।
रामलीला मञ्चनको अन्तिम दिन बिहीबार साँझ ८ बजे भरत मिलाप तथा भगवान् श्रीरामको शुभ राज्याभिषेक कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ। यी कार्यक्रमले श्रद्धालु भक्तजन तथा स्थानीय समुदायलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ। नेपालगञ्जमा लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीला धार्मिक आस्थाको केन्द्र मात्र नभई यहाँको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण गर्ने महत्त्वपूर्ण उत्सवका रूपमा समेत परिचित छ।


