३१ श्रावण २०८३, आईतवार

नेपाल समुहको लागि एमालेको ढोका बन्द

एसीपी संवाददाता

११ बैशाख २०७८, शनिबार ०१:४७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपाल पक्षका सबै नेतालाई जिम्मेवारीविहीन बनाएका छन्। शुक्रबार दिउँसो ओलीले खनाल–नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसेर एकलौटी रूपमा स्थायी कमिटी पुनर्गठन गरेका छन्। बैठक बालुवाटारमा बसेको थियो। बैठकमा ओलीले नेपाल पक्ष पार्टीभित्र आउन नचाहेको बताएका थिए।

यसैबीच नेता नेपालले ओलीमा धराहराभन्दा माथिको दम्भ रहेका कारण मिलाउनेभन्दा बिगार्न लागिपरेको बताएका छन्। ‘केपी ओलीको दम्भ अहिले धरहराभन्दा माथि चढेको छ। हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो, त्यो धरहरा देखेर उहाँले दम्भ देखाइरहनुभएको थियो। त्यो दम्भको कुनै अर्थ छैन। हामी आन्दोलन छोड्दैनौं, पार्टी छोड्दैनौं, लोकतन्त्र छोड्दैनौं, संघीयता त्याग्दैनौं’, नेपालले जनकपुरमा भने। ओलीले पार्टीभित्र प्रवेश निषेध गरेपछि नेपाल पक्ष समानान्तर कमिटी बनाउँदै अर्को दलको तयारीमा लागेको स्रोतले बताएको छ। नाम र झन्डासमेत तय भएको दाबी स्रोतले गरे पनि नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ।

उता स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले अझै केही समय पर्खिने बताए। समानान्तर गतिविधि गरिरहेका नेताहरूलाई ती गतिविधि रोकेर, पार्टी एकतामा योगदान गर्न र पार्टीको मूल प्रवाहमा फर्किन पुनः आह्वान गरिएको उनले बताए। ओलीले १८ सदस्यीय स्थायी कमिटीमा खनाल–नेपाल पक्षका सबै नेतालाई हटाएर आफू पक्षधरलाई समेटेका छन्। उपाध्यक्षबाट हटाइएका वामदेव गौतमलाई स्थायी कमिटीमा समेटिएको छ।

स्थायी कमिटीमा माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरूलाई पनि समेटिएको छ। स्थायी कमिटीमा ओलीसहित, वामदेव गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा, किरण गुरुङ र पुष्पराज कँडेल रहेका छन्।

नेपालसँग बुधबार र बिहीबार भएको वार्तामा कुनै प्रगति नभएपछि ओलीले स्थायी समिति पुनर्गठन गरेका हुन्। स्थायी कमिटीबाट हटाइएका नेतामा झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने छन्।

ओली समूहले कर्णाली प्रदेशमा ह्विप उल्लंघन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाट हटाएको छ। ​एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई कारबाही गरेको हो। यी चारै जनाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x