परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसबाट डा. खड्का नियुक्त
६ गते असोज २०७८ बुधबार । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसबाट डा. नारायण खड्का नियुक्त भएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले आज बिहान डा.खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
डा. खड्काले आज दिउँसो नै शपथ लिने र साँझ ८ बजेको उडान मार्फत् न्यूयोर्क जाने तयारी भइरहेको छ । खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । संभवत दिउँसो १ बजे शपथको कार्यक्रम रहनेछ ।
मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको थियो । बैठकमा प्रधानमन्त्री देउवाले डा.खड्काको नाम प्रस्ताव गरेका थिए । परराष्ट्रमन्त्रीमा शपथ लिए लगत्तै खडका संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्नेछन् ।
खड्का सुशील कोइराला प्रधानमन्त्री हुँदा सहरी विकास मन्त्री भएका थिए । २०५६ मा कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार भएका खड्का राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । नेपाली कांग्रेसको विदेश विभाग प्रमुख समेत रहेका उनी उदयपुर १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।


