१३ आश्विन २०८३, मंगलवार

पूर्वमन्त्री हृदयेश त्रिपाठीले पनि पार्टीको नाम समाजवादी राख्ने

एसीपी संवाददाता

१० भाद्र २०७८, बिहीबार ११:२० मा प्रकाशित

नेपालगन्ज : स्वतन्त्र राजनीतिक समूहका रुपमा रहेको पूर्वमन्त्री हृदयेश त्रिपाठीले पनि पार्टीको नाम समाजवादी राख्ने भएका छन्। यसअघि उपेन्द्र यादव नेतृत्वको दल र माधवकुमार नेपाल नेतृत्वको नवगठित दलको नाममा समाजवादी जोडिएको छ।

annapurna post

अवधि पत्रकार संघ नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता त्रिपाठीले आगामी निर्वाचनसम्म नयाँ दल दर्ता भइसक्ने र पार्टीको नाममा समाजवादी जोडिने बताए। उनले भने, ‘हामी कुनै पार्टीमा समावेश हुने वा एकीकरण प्रक्रियामा जान्नौं। आउँदो चुनावसम्म पार्टी छुट्टै पार्टी हुनेछ। आफ्नै दलको निर्वाचन चिन्हबाट उम्मेदवारी दिनेछौं।’

नेकपा एमालेको निर्वाचन चिन्हबाट सांसद निर्वाचित भएर मन्त्रीसमेत भएका नेता त्रिपाठीले नयाँ पार्टी गठनको अन्तिम चरणमा पुगेको प्रष्ट पारे। ‘पार्टीको नाममा समाजवादी शब्द राख्ने सहमति भएको छ। चार पाँच वटा नामबारे छलफल जारी छ। चाँडै टुंगोमा पुग्छौं’, उनले थपे, ‘दलको राजनीतिक प्रस्ताव, आर्थिक नीति, सामाजिक र सांस्कृतिक पक्ष कस्तो हुने भन्ने टुंगो लागिसकेको छ।’

देश बनेपछि मधेसका समस्या पनि हल हुने उनको जिकिर थियो। ‘मधेसका समस्या भनेको देशकै समस्या हो। जबसम्म देश बन्दैन, तबसम्म मधेसका समस्या हल हुन सक्दैनन्। यही हाम्रो पार्टीको ठम्याइँ हो’, त्रिपाठीले भने, ‘३ दशक लामो मधेस आन्दोलनको क्रममा धेरै क्षति भयो। प्रतिफल आएन। देशका हरेक समस्या समाधान गर्दा मधेसका समस्या पनि समाधान हुनेछन्।’

उनले क्षेत्रीय दल अर्थात मधेसका नाममा मात्र आफ्नो दल नहुने बताए। त्रिपाठीले पार्टीले किसानका मुद्दालाई बढी प्राथमिकता दिने र तराई, पहाड र हिमालका किसानको प्रतिनिधित्व हुने गरी दलले काम गर्ने बताए। पार्टीमा पश्चिम मधेसका नेताहरुको बाहुल्यता हुने भएपनि दलको चरित्र मधेश केन्द्रित मात्र नभएर देशैभरीलाई समेट्ने हुने उनको भनाइ थियो। सैद्धान्तिक विमतिमा भन्दा व्यक्तिगत कारणले दल विभाजन हुनुलाई दुर्भाग्यपूर्ण मान्दै नेता त्रिपाठीले दलहरुबीच बढेको तिक्तताले देश दुर्घटनामा जाने खतरा औंल्याए। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x