पूर्व नगरप्रमुख र सांसद घिमिरे एमाले छोड्दै रास्वपातर्फ, बालेन निकटता खुला
नेकपा एमाले रुपन्देहीका प्रभावशाली नेता बासुदेव घिमिरेले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने घोषणा गरेका छन्। केन्द्रीय नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका घिमिरेले मंगलबार राति औपचारिक रूपमा एमाले छाडेको घोषणा गरेका हुन्।
पार्टी परित्यागको घोषणा गर्दै घिमिरेले पुराना राजनीतिक दलहरूको शीर्ष नेतृत्व जनताको चाहना र आकांक्षा सम्बोधन गर्न असफल भएको आरोप लगाए। उनले भने, “पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकका आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीबाट अलग भएको छु।”
एमाले परित्याग गरेसँगै घिमिरे रास्वपामा आबद्ध हुन लागेको बुझिएको छ। उनी पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निकट देखिँदै आएका थिए। मेयर शाह स्वयं पनि रास्वपामा समाहित भइसकेका छन्, जसले घिमिरेको राजनीतिक यात्रालाई नयाँ दिशामा डोर्याएको देखिन्छ।
घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख तथा विघटित प्रतिनिधिसभाका सांसदसमेत हुन्। नगर प्रमुखको कार्यकालमा तिलोत्तमा नगरपालिकालाई देशकै सर्वोत्कृष्ट नगरपालिकामध्ये एक बनाएको श्रेय उनीसँग जोडिन्छ। विकास, सुशासन र व्यवस्थापनमा देखाएको भूमिकाका कारण उनी स्थानीय तहमा लोकप्रिय नेताका रूपमा चिनिन्छन्।
गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका घिमिरे यसपटक भने नयाँ राजनीतिक यात्रासहित रास्वपाबाट चुनावी मैदानमा उत्रिने तयारीमा छन्। स्रोतका अनुसार उनी एमाले उपाध्यक्ष विष्णु पौडेलसँगै जोडिएको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन्।
एमाले छाड्नुअघि घिमिरेले उपाध्यक्ष पौडेलसँग भेट गरेर स्पष्ट सन्देश दिएको समेत खुलासा भएको छ। भेटका क्रममा घिमिरेले पौडेललाई प्रत्यक्ष चुनाव नलडी समानुपातिकतर्फ जान सुझाव दिएको बताइन्छ। उनले भनेका थिए, “म तपाईंको क्षेत्रबाटै भिड्ने हो, तर तपाईंलाई हराउने मेरो चाहना छैन। समानुपातिकमा बस्नुस्।”
घिमिरेको एमाले परित्याग र रास्वपामा प्रवेशले रुपन्देहीको राजनीतिक समीकरणमा ठूलो तरंग ल्याएको छ। अनुभवी, संगठनात्मक रूपमा बलियो र स्थानीय तहमा स्थापित नेताको यो कदमले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा झनै चर्किने संकेत देखिएको छ। हिमालपत्रीका


