पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट राखिने
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट राखिने भएको छ । रङ्गशाला रु एक अर्ब २८ करोड लागतमा तीन वर्ष अघिदेखि सुरु भएकाे निर्माण काम हाल अन्तिम चरणमा पुगेको छ । हालसम्म ९० प्रतिशत काम सकिएको छ । तर सुरुआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना भने थिएन ।
अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले बजेट विनियोजन गरको छ । ‘फ्लड लाइट’का लागी रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।
क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण नाथ योगीका अनुसार रु पाँच करोड बजेट विनियोजन भएको र यसै वर्ष बोलपत्र समेत आह्वान भएर ‘फ्लड लाइट’ जडानको कार्य सुरु गरिनेछ । रङ्गशालाको चारै कुनामा बत्ती राखिने छ । साँझ तथा रातिका खेलका लागि बत्ती अनिवार्य रहेको र उक्त सुबिधा नहुँदासम्म फिफाले स्वीकृति दिने छैन ।
उक्त लाइट भएपछि रङ्गशालामा धेरै अन्तर्राष्ट्रिय मैत्रीपूणर् खेल र अन्य प्रतियोगिता गर्न बाटो खुल्नेछ । अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाका १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ । अहिले खेलाडीका लागी प्लेयर बक्स, चेञ्जिङ रुम र प्रि इञ्जिनियरिङ भवनको फिनिसिङ तथा रङरोगनको काम भइरहेको बताइएको छ ।


