प्रख्यात शायर सहर महमूदको सम्मानमा भव्य समारोह
बज्म–ए–उर्दू नेपालको आयोजनमा “सहर–ए–सुखन” (अर्थ साहित्यिक बिहानी) को नामबाट भव्य मुशायरा समारोह सम्पन्न भएको छ । उक्त समारोह जिल्ला कपिलवस्तुबाट पाल्नु भएका विख्यात शायर सहर महमूदको सम्मानमा आयोजित गरिएको थियो । सोही स्थानबाट पाल्नु भएका इस्लामी विद्धान सिराज अहमद प्रमुख अतिथि रहेका थिए । बज्म–ए–उर्दूका अध्यक्ष सर्वर नेपाली तथा उर्दू प्रेमी जमील अहमद जरगरले दिएको जानकारी अनुसार शायर सहर महमूद उर्दू फाउन्डेशन नेपालका अध्यक्ष हुन र उहाँको गजल संग्रह जहान–ए–आरजू प्रकाशिक रचनामध्येको लोकप्रिय गजल संग्रह मानिन्छ । महमूद साहित्यिक अनुसन्धानमा पोख्त मानिन्छन् । वर्तमानमा उहाँको खोजी अनुसन्धानको विषय नेपालमा उर्दू साहित्य रहेको छ । प्रख्यात उर्दू लेखक तथा विद्धान सिराज अहमद काठमाण्डौबाट प्रकाशित हुने तथा त्रैमासिक पत्रिका पैगामका सम्पादक रहेका छन् ।
कार्यक्रमको शुरुवात ७ देखि १२ वर्ष उमेरका स–साना बालकहरुले नेपाली राष्ट्रगानको सुमधुर प्रस्तुतिबाट सभालाई गौरवान्वित बनाउँदै भएको थियो । कार्यक्रमको सञ्चालन बज्म–ए–उर्दूका अध्यक्ष सर्वर नेपाली तथा सम्मानित सदस्य र मार्गदर्शक प्राध्यापक हरि तिमिल्सिनाले गरेका थिए ।
राष्ट्रगान पछि कार्यक्रमलाई अगाडि बढाउँदै सञ्चालकले युवा कवि डा. नूर मोहम्मद अंसारीलाई कविता वाचन गर्न लगाए । डा. नूरले आफ्नो नेपाली भाषामा आफ्नो प्रस्तुति प्रभावशाली ढंगबाट गरेर सभाको उत्साहवृद्धि गरे । त्यसपछि नेपालगंजका स्थानीय शायर नूर मोहम्मद राईले उर्दू भाषामा सभालाई मोहित पार्ने गरी गजल प्रस्तुत गरे । सभामा उपस्थित इस्लामी विद्धान, भाषा विद र प्रख्यात वक्ता र लेखक डा. जैनुल आबेदिनले उर्दू भाषाको महत्वमा प्रकाश पारे । डा. जैनुलको प्रस्तुति तथा भाषा ज्ञानबाट सभा निक्कै प्रभावित भएको थियो ।
कार्यक्रमको पहिलो चरणको समाप्तिपछि कार्यक्रमका अर्का सञ्चालक बज्म–ए–उर्दू नेपालका पदेन सदस्य, साहित्य प्रेमी र विञ प्राध्यापक हरि तिमिल्सिनाले कार्यक्रमको नेतृत्व सम्हाल्दै कार्यक्रममा नेपाली साहित्यकारहरुको भव्य प्रस्तुति दिनु भयो । नेपाली कविता प्रस्तुत गर्ने क्रममा कवियित्रि श्रीमती चन्दावती अधिकारी (केन्दीय सदस्य भेरी साहित्य समाज), श्री भरत बहादुर रानाभाट (अध्यक्ष लुम्बिनी वाङमय प्रतिष्ठान, बाँके), श्री इन्द्र बहादुर बस्नेत (अध्यक्ष भेरी साहित्य समाज केन्द्रीय समिति) ले समग्रमा भावपूर्ण ढंगले आ–आफ्नो प्रस्तुति दिनु भयो । विभिन्न भाषा संस्कृतिहरुको विकासमा प्रकाश पार्दै प्रा. हरि तिमिल्सिनाले भन्नु भयो, “नेपालमा विभिन्न भाषा भाषी, सांस्कृतिक समुदायहरुको विकासले समग्र समाजको विकास हुन्छ र समाजको विकास हुँदा नै देशको विकास हुन्छ ।”
कार्यक्रमको अन्तिम चरणमा अन्तर्राष्ट्रीय ख्याति प्राप्तसर्वर नेपालीको सामाजिक सञ्जालमा भाइरल रचनाहरु साक्षात सुन्न पाउँदा सभाकक्ष निक्कै उत्साहित देखिएको थियो । अतिथि शायर सहर महमूदले आफ्रनो रचना तरन्नुमबाट वाचन गरेर सभाकक्षलाई मन्त्रमुग्ध पार्नु भयो । नेपालगंजका स्थानीय वयोवृद्ध शायर सैयद नेपालीले आफ्नो रचनाबाट नवयुवाहरुलाई समेत पछि पार्दै जोशिला र पोख्त रचना प्रस्तुति गरेर सबैको मन जित्न सफल हुुनु भयो । अर्का अतिथि विद्धान लेखक सेराज अहमदले भन्नु भयो, “उर्दू भाषामाथि एउटा धर्म समुदायको अधिकार नहुने बरु भाषाहरु सबैका धार्मिक सास्कृतिक समाजहरुका साझा सम्पत्ति हुन्, र सबैले मिलेर भाषा, साहित्य र संस्कृतिको विकास गर्नु पर्दछ भनी जोड दिनुभयो । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति ८५ वर्षीय सबैभन्दा वरिष्ठ तथा विद्धान शायर अब्दुल लतीफ शौकले आफ्नो रचनापाठ समग्रमा आशीष छर्नु भयो ।
उपरोक्त कार्यक्रमका लागि नेपालगंज उ.म.न.पा. वडा नं. ४ का श्री गोपाल पुल (अध्यक्ष), उत्तम सिंह सिजापति (सदस्य), रुमीता श्रेष्ठ (महिला सदस्य), रेवती दमाइ (दलित महिला सदस्य) मोहम्मद सलीम मुसलमान (सदस्य) ले सक्रिय सहयोग गर्दै गणेशपुर स्थित शहरी स्वस्थ्य प्रवर्धन केन्द्रको सभाकक्ष निःशुल्क उपलब्ध गराइ विशेष सहयोग गरेका थिए ।
कार्यक्रमको आयोजनमा बज्म–ए–उर्दू नेपालका पदाधिकारी अतहर हुसेन फारुकी, मोहम्मद रहिस हलवाई तथा बदरुद्दीन अंसारीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमको समापन बज्म–ए–उर्दू नेपालका उपाध्यक्ष सैयद जहाँगीर सलाहुद्दीनले आफ्नो भनाई दरिलो ढंगबाट राख्दै प्रख्यात शायर मिर्जा गालिबका केहि शेरहरु समेत वाचन गरी श्रोतागणलाई छक्क पार्दै गर्नुभयो ।


