१४ आश्विन २०८३, बुधबार

बंगलादेशमा एमबीबीएस पढ्न गएका विद्यार्थीमाथि छानबिन

एसीपी संवाददाता

१३ बैशाख २०७८, सोमबार १३:१४ मा प्रकाशित

काठमाडौँ — नेपाल प्रहरीले एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका र पढाइ सकेर फर्किएका विद्यार्थी तथा चिकित्सकको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि अनुसन्धान थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आर्थिक वर्ष २०६८/६९ देखि २०७१/७२ सम्ममा बंगलादेशमा एमबीबीएस पढ्न गएका विद्यार्थीमाथि छानबिन अघि बढाएको हो ।

बंगलादेशबाट एमबीबीएस सकेर आएका तीन चिकित्सकसहित ५, किस्ट मेडिकल कलेजमा अध्ययनरत एक र चीनबाट अध्ययन पूरा गरी आएका एक गरी ७ जनालाई ब्युरोले वैशाख ५ गते पक्राउ गरेको थियो । एमबीबीएस अध्ययन गर्न जानुअघि काउन्सिलमा पेस गरिएका एसएलसीका मार्कसिटमा अंक हेरफेर भएको पुष्टि भएपछि उनीहरू ब्युरोको नियन्त्रणमा छन् । मार्कसिटमा अंक हेरफेर गरेको आरोपमा बागबजारस्थित दीपज्योति इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीलाई पनि ब्युरोले हिरासतमा राखेको छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार बंगलादेशमा एमबीबीएस पढ्न प्रवेशिका र प्लस टुको अंक जोडेर जीपीए (ग्रेड प्वाइन्ट एभरेज) सरकारी कलेजमा ८ र निजीमा ७ अंक ल्याउनुपर्छ । त्यही योग्यताका आधारमा काउन्सिलले अध्ययनका लागि योग्यताको प्रमाणपत्र जारी गर्छ । तोकिएको जीपीए नपुगेपछि कतिपय विद्यार्थीले मार्कसिटमा किर्ते गरेको र काउन्सिलले पनि त्यसलाई नै आधार मानेर योग्यताको प्रमाणपत्र दिएको भेटिएपछि ब्युरोले अनुसन्धान गरेको थियो ।

काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले प्रवेशिकाका कागजात किर्ते गरेको विषयमा ब्युरोमा अनुसन्धान भइरहेको र त्यसक्रममा काउन्सिलले बंगलादेशका लागि पेस भएका विभिन्न व्यक्तिका शैक्षिक कागजात उपलब्ध गराएको जानकारी दिए । ‘पछिल्लोपटक ब्युरोमा कतैबाट उजुरी परेपछि अनुसन्धान गर्दा केहीका कागजातमा बदमासी गरिएको भेटियो, त्यसपछि थप अनुसन्धान गर्न काउन्सिलमा पेस गरिएका केही कागजात ब्युरोलाई उपलब्ध गराएका छौं,’ उनले भने ।

ब्युरोका डीआईजी सहकुल थापाले अतिसंवेदनशील र मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अपराध गर्नेलाई उन्मुक्ति नहुने गरी अनुसन्धान भइरहेको बताए । ब्युरोले किर्ते गरिएका कागजात प्रमाणीकरण (नोटरी) गर्ने कानुन व्यवसायीमाथि पनि छानबिन थालेको छ । पछिल्लो पटक पक्राउ परेका र ब्युरोले काउन्सिलबाट झिकाएका धेरैजसो कागजातमा एउटै नोटरीबाट प्रमाणीकरण गरिएको देखिन्छ । यसमा कन्सल्टेन्सी सञ्चालक, विद्यार्थी र ती नोटरी सञ्चालक (कानुन व्यवसायी) को सेटिङ रहेको प्रहरीको आशंका छ 

परामर्श शुल्क नै १ लाखसम्म

बागबजारस्थित दीपज्योति कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीले बंगलादेशमा एमबीबीएस अध्ययनका लागि जाने विद्यार्थीका शैक्षिक कागजात किर्ते गर्न र अन्य परामर्शका लागि प्रतिव्यक्ति २५ हजारदेखि १ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलेको छ । उनले काउन्सिलबाट योग्यताको प्रमाणपत्र पाइसकेपछि पनि थप शुल्क असुल्ने गरेको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो ।

बंगलादेशमा सरकारी कलेजमा अध्ययन गर्नेको शुल्क निजीको तुलनामा कम छ । उक्त कन्सल्टेन्सीबाट सरकारीमा अध्ययन गर्नेबाट पनि चौधरीले थप शुल्क उठाउँथे । जीपीए ८ ल्याएकाले कोटा पुगे सरकारी कलेजमा पढ्न पाउँछन् । सरकारी र निजी दुवै कलेजले विद्यार्थी पठाएबापत आफूलाई प्रतिव्यक्ति १ हजारदेखि १ हजार २ सय डलरसम्म कमिसन पठाउने गरेको पनि चौधरीले बयानमा उल्लेख गरेका छन् । यसअघि पनि ब्युरोले ३६ चिकित्सकलाई पक्राउ गरेको थियो । भारतका विभिन्न शैक्षिक संस्थाका नाममा जारी किर्ते कागजातका आधारमा एमबीबीएस अध्ययन गरेका उनीहरूमाथि विशेष अपरेसन नै चलाइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x