११ भाद्र २०८३, बिहीबार

बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नगरप्रमुख र किशोरीद्वारा नवनिर्मित किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवनको उद्घाटन

एसीपी संवाददाता

६ पुष २०८२, आईतवार १९:४५ मा प्रकाशित

बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नगरप्रमुख र किशोरीद्वारा नवनिर्मित किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवनको उद्घाटन

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरण परियोजनाअन्तर्गत बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवनको मिति २०८२ साल पौष ४ गते भव्य समारोहबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

मधुवन नगरपालिकाको वडा नं. १ मा अवस्थित सूर्यपटुवा स्वास्थ्य चौकी तथा गुलरिया नगरपालिकाको वडा नं. ९ मा अवस्थित मथुराहरद्वार स्वास्थ्य चौकीमा निर्माण गरिएका यी भवनहरूको उद्घाटन सम्बन्धित नगरप्रमुख र किशोरीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।

मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मिनबहादुर थापाको अध्यक्षतामा नगरप्रमुख तेजबहादुर भाट प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा नगर उपप्रमुख अनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, नगर प्रवक्ता मेकबहादुर गुरुङ, प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङ, पश्चिम क्षेत्रीय प्रबन्धक मिना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सचिव युवराज श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख गीता घिमिरे, प्लान इन्टरनेशनल नेपाल तथा राधाकृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय किशोर–किशोरी तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी गुलरिया नगरपालिकामा वडा नं. ९ का वडा अध्यक्षको अध्यक्षतामा नगरप्रमुख मुक्तिनाथ यादव प्रमुख अतिथि रहनु भएको कार्यक्रममा गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सतिश यादव, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायणप्रसाद चौधरी, प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङ, पश्चिम क्षेत्रीय प्रबन्धक मिना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा सचिव युवराज श्रेष्ठ, गुलरिया स्वास्थ्य शाखा प्रमुख शिवकुमार चौधरी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय किशोर–किशोरी तथा समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।

भवन जसका लागि निर्माण गरिएको हो, उनै किशोरीहरूको सहभागितामा उद्घाटन गरिएको विशेष कार्यक्रमको आकर्षण बनेको थियो। मधुवन नगरपालिकामा किशोरी विद्यार्थी पार्वतीले नगरप्रमुख तेजबहादुर भाट र प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङको साथमा रिबन काटी भवनको उद्घाटन गर्नुभयो भने गुलरियामा किशोरी विद्यार्थी नन्दनी यादवले नगरप्रमुख मुक्तिनाथ यादव र निर्देशक जुली गुरुङको साथमा भवनको उद्घाटन गर्नुभयो।

कार्यक्रममा बोल्दै मधुवन नगरप्रमुख तेजबहादुर भाटले यस भवन निर्माणले किशोर–किशोरीहरूको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्यसम्बन्धी समस्या लुकाउनुभन्दा समयमै स्वास्थ्य संस्थामा आएर परामर्श लिन आग्रह गर्नुभयो र सहयोगी संस्थाहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो। त्यसैगरी गुलरिया नगरप्रमुख मुक्तिनाथ यादवले मधेशी समुदाय अझै पनि पछाडि परेको उल्लेख गर्दै किशोर–किशोरीहरूलाई निर्भीक रूपमा सेवा लिन आउन सक्ने वातावरण सिर्जना गर्न सबै तह र तप्काबाट पहल आवश्यक रहेकोमा विशेष जोड दिनुभयो।

परियोजना संयोजक सुरज अर्यालका अनुसार किशोर–किशोरीहरूको गोपनीयता सुनिश्चित गर्ने, गुणस्तरीय परामर्श सेवा प्रदान गर्ने, आरामदायी प्रतीक्षालयको व्यवस्था गर्ने, सूचना–शिक्षा–सञ्चार सामग्रीमार्फत किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी जनचेतना फैलाउने तथा तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत परिवार नियोजन, यौन संक्रमण, महिनावारी स्वास्थ्य र स्वच्छता तथा अन्य यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको उपचार सेवा प्रदान गर्ने उद्देश्यले यी भवन निर्माण तथा हस्तान्तरण गरिएको हो। साथै, सीमित पूर्वाधारका कारण स्वास्थ्य संस्थाबाट गुणस्तरीय किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहमा देखिएको समस्या समाधान गर्न यो पहल गरिएको जानकारी दिनुभयो।

प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङले यी स्वास्थ्य सेवा भवनबाट धेरैभन्दा धेरै किशोर–किशोरीहरूले गोपनीयता र आत्मसम्मानका साथ सेवा लिन पाउने विश्वास व्यक्त गर्दै यस कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो।

किशोरी पार्वतीले भनिन्, “यो स्वास्थ्य सेवा भवन हाम्रो लागि अत्यन्त उपयोगी हुनेछ। विद्यालय नजिकै भएकाले आउन सजिलो छ। किशोर–किशोरीहरूले आफ्ना यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या र जिज्ञासा निडर र गोप्य रूपमा व्यक्त गर्न सक्ने सुरक्षित स्थान हुनु अत्यन्त आवश्यक छ।”

यी भवनहरूमार्फत विशेषगरी मधुवन नगरपालिकाका वडा नं. १ र २ तथा गुलरिया नगरपालिकाका वडा नं. ८, ९ र १० का किशोर–किशोरीहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ। मधुवन नगरपालिकाको सूर्यपटुवा स्वास्थ्य चौकीको कुल निर्माण लागत रु. ४३,५६,३८०.६२ तथा गुलरिया नगरपालिकाको मथुराहरद्वार स्वास्थ्य चौकीको कुल निर्माण लागत रु. ४५,२७,८०३.९४ रहेको छ। यसका साथै किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि रु. ८,१७,०००.०० बराबरको सामग्री खरिद गरी प्रदान गरिएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x