२ श्रावण २०८३, शनिबार

बाँकेमा रगतको अभाव

एसीपी संवाददाता

३१ श्रावण २०८१, बिहीबार १८:५० मा प्रकाशित

बाँके  । पश्चिम नेपालको तीन प्रदेशको स्वास्थ्य केन्द्रका रूपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले गर्मीकै कारण अस्पतालमा बिरामी थपिँदा रगतको माग पनि बढेको र रक्तदान घटेकाले पनि अस्पतालमा रगत अभाव भएको बताउनुभयो ।अहिले रक्तसञ्चार केन्द्रमा कुनै पनि ग्रुपको रगत मौज्दात नरहेको समेत उहाँले बताउनुभयो ।

रक्तदानको भरमा रहेको ब्लड बैङ्कमा माग अनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ  । बिरामीका कुरुवा आफन्तलेनै रगत खोज्न पर्ने हुँदा  कतिपय अवस्थामा रगत पाउन धेरै समय पनि लाग्ने गरेकाले बिरामीको अवस्था झन् गम्भीर हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमित रूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

कुनै ठुलो घटना दुर्घटना भएमा रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त मौज्दात नरहेकाले चिन्ता बढाएको सो केन्द्रका प्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “रगत माग हुँदा मौज्दात अभावले बिरामीका आफन्तलाई नै ल्याउ भन्नु परेको छ । रक्तदानका कार्यक्रम नहुँदा बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्दा समस्या भइरहेको छ ।”

रक्तसञ्चार केन्द्रमा रगतको उपलब्ध नहुँदा सामाजिक सञ्जालमा समेत रक्तदानका लागि पटक पटक आह्वान गर्ने गरिएको छ । बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत मौज्दात हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाले नेपालगन्जस्थित ब्लड बैङ्कमा हाल तीन हजार पिन्ट बढी रगत स्टक गर्न सक्ने क्षमता विस्तार गरिए पनि त्यस अनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको बताउनुभयो ।

नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ७० देखि १ सय १० पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । अनलाइनरेडियोनेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x