बोर्ड बैठकमै मर्यादा नाघेर जनप्रतिनिधि नै कुटाकुट गर्ने स्थितिमा
११ गते असोज २०७८ सोमबार । निर्धारित एजेण्डाहरुमा शालीन र भद्र छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने ठाउँमा हात हालाहालको अवस्था आयो भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । नेपालगञ्ज उपमहानगरपालिको बोर्ड बैठकमा यस्तै दृश्य देखिएको छ । चित्त नबुझेको कुरामा आफ्नो धारणा राखेर विमति जनाउन सकिन्छ । तर, बोर्ड बैठकमै मर्यादा नाघेर जनप्रतिनिधि नै कुटाकुट गर्ने स्थितिमा पुग्नु शोभनीय होइन ।
नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा हात हालाहाल भएपछि यो विषयले चर्चा पाएको छ । कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शीरुपमा खर्च नभएको गुनासो वडाध्यक्षहरुले गरेपछि सिर्जना भएको विवाद हात हालाहालको स्थितिमा पुग्यो । विवाद चर्किँदै जाँदा हात हालाहालसम्म पुगेको बैठकमा सहभागी एक वडा अध्यक्षले बताए ।
यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यलाई दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको थियो । तर, वडा नम्बर ५ का अध्यक्ष कैफुलबराह जोलाहा र वडा नम्बर ७ का अध्यक्ष जुम्मन खाँले बजेट पारदर्शीरुपमा खर्च नभएको कुरा उठाएपछि कार्यपालिका सदस्य देउमल सुनार प्रतिवादमा उत्रिएको बैठकमा सहभागी एक वडा अध्यक्षले बताए । सोही क्रममा कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहा बीचमा हात हालाहाल भएको हो ।
उनीहरुलाई छुट्याउने क्रममा वडा नम्बर ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष प्रमोद रिजालले कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको रकमका विषयमा विवाद भएको जानकारी दिए ।


