भारतको चिनाब नदी परियोजनाबारे पाकिस्तानको आपत्ती , हरेक तीन महिनामा गर्छ बिरोध
एजेन्सी । जम्मु कश्मीरमा अवस्थित चिनाब नदीमा जारी भारतीय परियोजनामाथि पाकिस्तानले आपत्ती जनाएको छ । चिनाब नदीमा जारी किरु हाइड्रोइलेक्ट्रिक प्लान्ट प्रोजेक्टमाथि पाकिस्तानले फेरि आपत्ती जनाएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले गत हप्तादेखि चिनाब नदीमा जारी हाइड्रोइलेक्ट्रिक परियोजनाको डिजाइनमाथि आपत्ती जनाएको छ । भारतले सिन्धु जल सम्झौताअन्तर्गत उक्त परियोजनामा काम गरिरहेको बताए पनि पाकिस्तानले आपत्ती जनाउँदै आएको छ ।
भारतको किरु हाइड्रोइलेक्ट्रिक प्लान्ट परियोजनाले सिन्धु जल सम्झौताको उल्लंघन गरेको पाकिस्तानको आरोप छ । भारतको सिन्धु जल आयोग प्रमुख प्रदीप कुमार सक्सेनाका अनुसार सम्झौता विपरीत गरिएको उक्त परियोजनाको डिजाइन नमिलेको भन्दै पाकिस्तानले आपत्ती जनाएको हो ।
पाकिस्तानले हरेक तीन महिनाको अन्तरालमा सो परियोजनामाथि आपत्ती जनाउँदै आएको छ । सन् १९६० मा सिन्धु जल सम्झौता भएको थियो । यस विषयमा भारत र पाकिस्तानबीच पटकपटक विवाद हुँदैआएको छ ।


