१२ आश्विन २०८३, सोमबार

भारतबाट आएको कोभिसिल्ड खोप कहाँ प्रयोग भयो ?

एसीपी संवाददाता

५ श्रावण २०७८, मंगलवार ०४:४१ मा प्रकाशित

काठमाडौँ । नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन्। खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ। पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ।

भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिसिल्ड डोज खोप पाएको थियो। भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८०० भायल खोप प्राप्त गरेको हो। नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन।

भारत सरकारद्वारा सेरम इन्स्टिच्युटद्वारा उत्पादित १० लाख डोज कोभिसिल्ड खोप गत माघमा प्राप्त भएपछि नेपालले खोप अभियान सुरु गरेको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरी २७ देखि फेब्रुअरी २२ सम्म ४ लाख ५८ हजार ९६२ डोज, मार्च ७ देखि २३ सम्म १३ लाख ६९ हजार ५२२ डोज गरी १८ लाख २८ हजार ४८४ डोज खोप लगाएको देखिन्छ। यसैगरी २० देखि २८ अप्रिल तथा २५ देखि ३० मेसम्म ४ लाख ६० हजार ७३४ जनालाई दोस्रो खोप डोज उपलब्ध गराएको देखिन्छ। यसरी पहिलो र दोस्रो डोजसहित नेपालमा कुल २२ लाख ८९ हजार २१८ डोज कोभिसिल्ड खोप लगाएको देखिन्छ।

कोभिसिल्डको एक भायल खोपमा ६।३ मिलिलिटर औषधि हुन्छ। खोपको एक डोजमा ०।५ मिलिलिटर दिइने भएकाले एक भायलबाट १० अथवा ११ डोज खोप लगाउन पुग्छ। नेपालले कुल २ लाख ३४ हजार ८ सय भायल खोप प्राप्त गरेको हिसाबले एक भायलबाट १० डोज खोप लगाउँदा २३ लाख ४८ हजार डोज र ११ डोज खोप लगाउँदा २५ लाख ८२ हजार ८ सय डोज खोप लगाउन पुग्छ। खोप केन्द्र्रअनुसार केही फरक भए पनि नेपालका अधिकांश खोप केन्द्रमा हरेक भायलबाट ११ जनालाई खोप लगाइएको छ। यसरी हिसाब गर्दा कुल २५ लाख ८२ हजार ८ सय डोज कोभिसिल्ड खोप नेपालमा उपलब्ध भएको देखिन्छ। तर स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार हालसम्म २२ लाख ८९ हजार २१८ डोज कोभिसिल्ड खोप लगाएको हिसाबले झन्डै ३ लाख डोज खोपको हिसाबकिताब देखिँदैन। नागरिक दैनिकबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x