१२ आश्विन २०८३, सोमबार

भारतले घरमै पुर्‍याउने चीन लिन जानू पर्ने खोप ; अनुदान भन्दा ढुवानी महङ्गो

एसीपी संवाददाता

१४ जेष्ठ २०७८, शुक्रबार ०२:१५ मा प्रकाशित

आठ लाख डोज बेइजिङबाट नेपालले नै आपूर्ति गर्नुपर्ने, दुई लाख डोज कुन्मिङबाट काठमाडौं पुर्‍याइने

चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख डोज खोप तत्काल उपलब्ध गराउन सकिने जानकारी दिएको छ । आठ लाख डोज खोप बेइजिङबाट नेपालले आपूर्ति गर्नुपर्नेछ भने दुई लाख डोज तिब्बत सरकारका तर्फबाट उपलब्ध हुनेछ ।

सुशीलकुमार लम्साल, उपनियोग प्रमुख, नेपाली दूतावास, बेइजिङ

हामीले चाहेको कुनै पनि वेला आपूर्ति गर्न सक्ने गरी भण्डारणमा खोप उपलब्ध छ भन्ने जानकारी आएको छ । हाम्रो उडानबाट जुनसुकै दिन पनि लैजान सकिन्छ । तिब्बत सरकारकै व्यवस्थापनमा छिट्टै नै कुन्मिङबाट हिमालय एयरलाइन्सले खोपको आपूर्ति गर्नेछ ।

चीन सरकारको वैदेशिक सहायतासम्बन्धी निकाय चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीले बेइजिङस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई यस्तो जानकारी गराएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार खोपलगायत द्विपक्षीय सुरक्षा र सहयोगबारे टेलिफोनमा कुराकानी भएको थियो । त्यस क्रममा राष्ट्रपति सीले थप १० लाख डोड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए । 

यसअघि पनि चीनले आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । त्यतिवेला पनि नेपाल एयरलाइन्सको चार्टर उडानबाट खोप ल्याइएको थियो । नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार चीनले दिने खोपमध्ये आठ लाख खोप बेइजिङस्थित भण्डारणमा उपलब्ध भइसकेको छ । ‘हामीले चाहेको कुनै पनि वेला आपूर्ति गर्न सक्ने गरी भण्डारणमा खोप उपलब्ध छ भन्ने जानकारी आएको छ,’ लम्सालले टेलिफोनमा भने, ‘हाम्रो उडानबाट जुनसुकै दिन पनि लैजान सकिन्छ ।’

उपनियोग प्रमुख लम्सालका अनुसार तिब्बत सरकारका तर्फबाट उपलब्ध हुने दुई लाख डोज खोप भने काठमाडौंमै उपलब्ध गराइनेछ । ‘तिब्बत सरकारकै व्यवस्थापनमा छिट्टै नै कुन्मिङबाट हिमालय एयरलाइन्सले खोपको आपूर्ति गर्नेछ,’ उनले भने ।

नेपाली दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई बिहीबारै जानकारी गराइसकेको छ । नेपाल एयरलाइन्सको जहाज तत्कालै पठाएर खोप ल्याउनुपर्ने सुझाब दूतावासले दिएको परराष्ट्रका अधिकारीहरूले बताएका छन् । पर्यटन मन्त्रालयले बेइजिङमा नेपाल एयरलाइन्सको जहाज पठाउनेबारेमा तयारी थालेको छ । 

चिनियाँ राष्ट्रपति सीले समकक्षी भण्डारीसँगको टेलिफोन संवादमा कोरोनाविरुद्धको लडाइँमा चीन सरकार, प्रान्तीय सरकार तथा संघसंस्थाले सकेजति नेपाललाई सहयोग गर्ने वचन दिएका थिए । चीनले गर्ने सहयोगको प्राथमिकतामा नेपाललाई राखेको पनि उनले बताएका थिए । 

भारतसँग पनि ताकेता
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार भारतीय समकक्षी रामनाथ कोबिन्दलाई चिठी लेखेर नेपालले खरिद गरेको १० लाख डोजसहित खोप उपलब्ध गराइदिन सहजीकरणका लागि आग्रह गरेकी थिइन् । बिहीबार दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले पनि सत्तारुढ भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग यसबारे छलफल गरेका छन् । नेता चौथाइवाले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह निकटस्थ मानिन्छन् । 

नेपाली दूतावासमा भएको भेटमा उपनियोग प्रमुख रामप्रसाद सुवेदी र अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना पनि सहभागी थिए । नेता चौथाइवालेले भारतले खोपको चरम संकट भोगिरहेको, तैपनि नेपाललाई खोप उपलब्ध गराउने विषयमा सेरम इन्स्टिच्युटसँग समन्वय गर्ने आश्वासन दिएका छन् । भारतबाट खोप नजाँदा करिब १४ लाख नेपाली दोस्रो डोजको खोप लगाउन वञ्चित हुनुपर्ने अवस्था आउन लागेको भन्दै राजदूत आचार्यले चिन्ता व्यक्त गरेका थिए । नयाँपत्रीका मार्फत

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x