भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा सोमबार आयुर्वेद दिवसमा आरोग्य सप्ताह आयोजना शुरु
१६ गते कात्तिक २०७८ मंगलबार । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको आयुर्वेद क्याम्पस र भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले सोमबार आयुर्वेद दिवसका अवसरमा संयुक्त रूपमा आरोग्य सप्ताह आयोजना गरेका छन्। सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती’ विषयमा अन्तर्राष्ट्रिय वेबिनार आयोजना भएको छ। आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाइने गरिएको छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा शिवलाल भुसाल, चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा.डा प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा. शिवमंगल प्रसाद, भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले सम्बोधन गरेका थिए। वेबिनारमा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थी सहभागी थिए।
अष्टांगम आयुर्वेद चिकित्शालयम र विद्यापीठम, केरला भारतका प्रधानाध्यापक र प्रमुख चिकित्सक प्रा.डा अलाथियुर नारायणन नाम्बी, र इन्स्टिच्युट अफ इन्डिजिनस मेडिसिन, कोलम्बो विश्वविद्यालय, श्रीलंकाका डा. एस.एम.एस समाराकुनले मुख्य वक्ताको रूपमा धारणा राखेको भारतीय राजदूतावासले जनाएको छ। भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा वर्षभरि मनाउन गइरहेको आजादीको अमृत महोत्सवको एक हिस्साको रूपमा कार्यक्रम आयोजना गरिएको हो। नयाँपत्रीका


