मन्त्रालय भागवण्डामा नेकपा एकीकृत समाजवादीको असन्तुष्टि किन ?
२१ गते असोज २०७८ बिहिवार । सत्ता गठबन्धनको बैठक मन्त्रालय भागवण्डालाई अन्तिम रुप दिने तयारीमा छ। त्यसका लागि बैठक बालुवाटारमा जारी छ । सत्ताघटक दल नेकपा एकीकृत समाजवादीले भने मन्त्रालय भागवण्डामा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ ।
नेकपा एसले उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, श्रम रोजगार तथा सामजिक सुरक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने भएको छ। तर, कम महत्वको मन्त्रालय दिएको भन्दै नेकपा एसले असन्तुष्ट व्यक्त गरेको छ ।
नेकपा (एस)का एक नेताले अन्नपूर्णसँग भने, ‘आजको स्थायी कमिटी बैठकले मन्त्रालयका बारेमा पुर्नविचार गर्ने निष्कर्ष निकालेको छ। हामीलाई छुट्टाइएका मन्त्रालय कम महत्वका छन्। आजको सत्ता गठबन्धनको बैठकमा कुरा उठ्छ। ’
बिहीबार स्थायी कमिटी बैठकपछि नेकपा एसका नेता विरोध खतिवडाले मन्त्रालयको संख्यामा असन्तुष्टि नभएको भन्दै संख्या अलिक बढेको भए राम्रो हुने बताए । उनले मन्त्रालयको संख्या र भागवन्डाका विषयमा गठबन्धनमा कुनै विवाद नभएको बताए । नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले छिट्टै मन्त्रिमण्डल विस्तारले पूर्णता पाउने भन्दै आफ्नो पार्टी अन्तिम तयारीमा रहेको बताए।
यस्तै, नेकपा (एस) को बिहीबार बसेको स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। यस्तै, नेपाली कांग्रेस, नेकपा (एस) र जनता समाजवादीबाट को–को मन्त्री हुने भन्ने अझै टुंगो लागेको छैन।
सत्ताघटक दलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्। तर, जनमोर्चा सरकारमा सहभागी हुनेछैन। अन्नपूर्णपोस्ट


