३ श्रावण २०८३, आईतवार

माओवादी मन्त्रीहरु राजीनामा दिदै

एसीपी संवाददाता

३ श्रावण २०८१, बिहीबार ०८:५४ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन्।

संघीय सरकार गठनका लागि सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीले राजीनामा दिन लागेको बताएका छन्। माओवादीबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजनामन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, वीरबहादुर शाही सामाजिक विकासमन्त्री र रणसिं परियार जलस्रोत तथा ऊर्जा विकासमन्त्री छन्।

परियार गत वैशाख १२ मा ऊर्जामन्त्री नियुक्त भएका थिए। त्यस्तै, बाँकी तीन जना गत वैशाख १८ मा मन्त्री भएका हुन्।

नयाँ गठबन्धनलाई सहज बनाउन सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री परियारले बताए। “हामीलाई मुख्यमन्त्रीज्यूले केही भन्नुभएको छैन र दलको बैठक पनि बसेको छैन,” मन्त्री परियारले हिमालखबरसँग भने, “हामी चारै जनाले सत्ताबाट बाहिरिनुपर्छ भन्ने सल्लाह गरेका हौं।”

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल अहिले काठमाडौंमा छन्। माओवादीका मन्त्रीहरू मुख्यमन्त्री कँडेलको प्रतीक्षामा छन्।

केन्द्रमा समीकरण फेरबदल हुने बित्तिकै प्रदेशमा पनि असर पर्ने गरेको छ। नयाँ सत्ता समीकरणलाई सजिलो बनाउन तत्कालै राजीनामा दिन खोजेको भए पनि मुख्यमन्त्री कँडेल प्रदेश बाहिर भएकाले ढिलाइ भएको परियारको भनाइ छ।

कर्णाली प्रदेशमा पहिलो पटक माओवादी सत्ता बाहिर बस्न लागेको हो। प्रदेश सरकार बनेयता कर्णालीमा माओवादी निरन्तर सत्तामा रहँदै आएको थियो। पछिल्लो पटक २०८० चैत २७ मा माओवादी र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा एमाले संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए। हिमालखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x