६ जेष्ठ २०८१, आईतवार

माधाव नेपाल पनि जसपा फुटेपछि अलमलिए

एसीपी संवाददाता

२५ बैशाख २०८१, मंगलवार ०७:२७ मा प्रकाशित

‘… संसदीय दल सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ’, प्रमुख सचेतक मेटमणि चौधरीले जारी गरेको वक्तत्वमा भनिएको छ ।

उपेन्द्र यादव सत्ता गठबन्धन परिवर्तन गर्न लागेको भन्दै अशोक राईसहित सात सांसदले जसपा विभाजित गरेकाले एकीकृत समाजवादी समेत फुट्न सक्ने आशंका गरिएको थियो । किनकि यो सत्ता समीकरणको आयुबारे यो दलका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै चर्को टिप्पणी गर्दै आएका थिए ।

उनले सत्ता समीकरण फेरिनसक्ने आशयसहित लगातार अभिव्यक्ति दिनुको पछाडि उपेन्द्रले आफ्नो साथ नछोड्ने विश्वास लुकेको थिएन । किनभने विभाजन हुनुअघिको जसपा र एकीकृत समाजवादीको निर्णयले नेकपा एमाले नेतृत्वको वर्तमान सत्ता समीकरण अल्पमतमा पर्न सक्थ्यो ।

तर अल्पमतको खतरा टार्न सत्ताकै सहयोगमा सत्तारुढ दल नै फुटाइएको ब्रिफिङ सांसदहरुसँग अध्यक्ष नेपालले गरेका छन् । ‘जसपा विभाजनको मुख्य डिजाइनर केपी ओली हुन्, त्यसमा प्रचण्डले साथ दिनुभयो’, नेपालले भनेका थिए ।

‘एकीकृत समाजवादीको मनोविज्ञान कमजोर बनाउने डिजाइनमै जसपा फुटाइएको ब्रिफिङ अध्यक्षले सुनाउनुभयो’, बैठकमा सहभागी एक सांसदले भने । उनका अनुसार, दलका नेता एवं अध्यक्ष नेपालले जसपा विभाजन गैरकानुनी भएको समेत बताएका थिए ।

‘ठूला दलहरु तोडफोडमा (अरु दल फुटाउन) लाग्यो, कानुनको मतलव गर्न छोड्यो । दायित्वबाट भाग्यो, यस्तो अवस्थामा हामी जिम्मेवार भएर अगाडि बढ्नुपर्छ’, अध्यक्ष नेपालको भनाइ थियो ।

सांसदहरुको कुरा सुनेपछि माधव नेपालले सार्वजनिक टिप्पणी भइरहेजस्तो अर्को समीकरण बनाउन सक्रिय नभएको पनि बताए ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेको कुरालाई नै आधार मानेर अर्को समीकरण बनाउन सक्रिय भएको आरोप लगाउनु गलत भएको अध्यक्ष नेपालको तर्क थियो ।

‘सुदूरपश्चिमको नेतृत्व हामीले पाउने सहमति थियो, त्यसबाट ओली र प्रचण्ड पछाडि हटेकाले देउवासँग भेटेको हो । अर्को सरकार बनाउन भनेर बाहिर भनेजस्तो होइन’, अध्यक्ष नेपालले भनेका थिए ।

देउवा र उपेन्द्रसँग नयाँ समीकरण बनाउन सक्रिय भएको आरोप लगाएर आफूलाई अपमानित गर्न खोजिएको पनि अध्यक्ष नेपालको प्रष्टोक्ति थियो । ‘गठबन्धनमा सहअस्तित्वको कुरा गरिरहेका छौं, तर हामीलाई अपमान गर्न आरोपहरु लगाइदैछ’, अध्यक्ष नेपालको भनाइ उदृत गर्दै अर्का सांसदले भने ।

सँगै अध्यक्ष नेपालले पार्टीको एकताबारे पनि चलाइएको हल्ला चिर्न साझा प्रतिवद्धताको प्रस्ताव गरेका थिए । ‘हल्ला चलेपछि सबै सांसद एकताबद्ध रहेको प्रतिबद्धता गरेका छौं’, उपमहासचिव प्रकाश ज्वालाले भने ।

सांसदहरु एकताबद्ध रहने प्रतिवद्धता बैठकबाट गरिनुमा पार्टी विभाजनको आशंका चिर्नु नै हो । ‘कानुनी रुपमा पनि एकीकृत समाजवादी फुट्न मिल्दैन । तर आशंका भएकाले एकताबद्ध रहने प्रतिबद्धता गरेका हौ’, उपाध्यक्ष बेदुराम भुसालले बताए ।

नेताहरुका अनुसार, प्रधानमन्त्री प्रचण्ड र सत्ता समीकरणप्रति असन्तुष्टि रहेपनि अहिलेको सत्ताकै पक्षमा उभिने निष्कर्ष समेत बैठकले निकालेको छ । ‘गठबन्धनमा केही समस्या भयो भने छलफल गरेर टुंगो लगाउनुपर्छ, तर अहिले फरक ढंगले सोच्नु हुँदैन भन्ने भयो’, उपमहासचिव ज्वालाले भने ।

अहिलेको परिस्थितिमा सत्तारुढ गठबन्धनकै पक्षमा उभिने निष्कर्ष बैठकले निकालेपनि अध्यक्ष नेपालले भने यो समीकरणमा अझै विश्वासको वातावरण नरहेको आशय सुनाएका छन् । ‘प्रचण्डको मनोविज्ञान अस्थिर छ, उनले नै यो समीकरणलाई धेरै अगाडि लैजान नसक्लान् । त्यस्तो अवस्थालाई ध्यान दिएर हामीले निर्णय गर्नुपर्छ भन्ने अध्यक्षको कुरा छ’, प्रमुख सचेतक चौधरीले भने ।

सत्ता गठबन्धनका एक नेता भने जसपा विभाजनपछि माधव नेपाल अलमलिएको बताउँछन् । ‘उपेन्द्रको पार्टी फुटेपछि अर्को समीकरण तत्काल बन्ने देखिँदैन, तर अहिलेको समीकरणमा उहाँको असन्तुष्टि छ । त्यसो हुँदा उहाँमा अलमल देखियो’, ती नेता भन्छन् ।

यस्तो अलमलबीच पार्टी एकता जोगाउनुपर्ने चुनौती भएकाले कांग्रेस सभापति देउवासँग कुरा नभएको प्रष्टोक्ति दिनुपरेको उनको बुझाइ छ । अनलाइन खबर बाट साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x