मिसन ८४ : नेपालगन्जको मेयरमा युवा नेता मोहित शाहको चर्चा, युवा नेतृत्व मार्फत सहर रूपान्तरणको एजेन्डा युवा सोच, ऊर्जा र स्पष्ट भिजनसहित आधुनिक, स्वच्छ र समृद्ध नेपालगन्ज निर्माण गर्ने अभियान अघि सारियो
दिनेश ठाकुर नेपालगन्ज, मसिर ५ गते — आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपालगन्ज उपमहानगरपालिकाको भावी नेतृत्वबारे राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा सुरु भएको छ। यसैक्रममा युवा नेता तथा समाजसेवी मोहित शाहको नाम नेपालगन्जको मेयर पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउन थालेको छ।सबल नेपालगन्ज, समृद्ध नेपालगन्ज’ र ‘मिसन ८४ : अबको पालो, युवा नेतृत्वको’ भन्ने नारा सहित सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा शाहको नाम अघि सारिएको हो। सार्वजनिक प्रचार सामग्री मार्फत नेपालगन्जलाई आधुनिक, स्वच्छ, व्यवस्थित र समृद्ध सहरका रूपमा रूपान्तरण गर्न युवा नेतृत्वको आवश्यकता औँल्याइएको छ।
अभियानले स्थानीय समस्या र जनताको आवश्यकता नजिकबाट बुझ्ने, विकास निर्माणमा स्पष्ट दृष्टिकोण राख्ने तथा खेलकुद, पर्यटन र समग्र नगर विकासमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता रहेको सन्देश दिएको छ।
नेपालगन्जको समग्र विकास र रूपान्तरणका लागि अभियानमार्फत पाँच प्रमुख प्राथमिकता पनि अघि सारिएका छन्। जसमा आधुनिक पूर्वाधार विकास र सहरीकरण, स्थानीय खेलकुदको प्रवर्द्धन तथा खेलाडीलाई प्रोत्साहन, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकास, सरसफाइ र हरियालीसहित स्वच्छ तथा सुन्दर सहर निर्माण र आर्थिक एवं सामाजिक विकासमार्फत समृद्ध नेपालगन्ज बनाउने एजेन्डा समेटिएका छन्।
अभियानमा युवा पुस्ताको सोच, ऊर्जा, सिर्जनशीलता र नवीन योजनालाई नगर विकाससँग जोड्नुपर्ने धारणा व्यक्त गरिएको छ। युवा नेतृत्वले परम्परागत कार्यशैलीभन्दा माथि उठेर विकास, सुशासन र जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्ने सन्देश पनि प्रवाह गरिएको छ।
‘नेपालगन्जको विकासका लागि अब स्पष्ट भिजन, ऊर्जावान् नेतृत्व र परिणाममुखी काम आवश्यक छ। युवा पुस्ताको सोच, क्षमता र सिर्जनशीलतालाई नगरको विकाससँग जोड्न सके मात्र आधुनिक, व्यवस्थित र समृद्ध नेपालगन्ज निर्माण सम्भव छ।’ अभियानसँग जोडिएको मुख्य सन्देशमा उल्लेख गरिएको छ।
स्थानीय युवा तथा समर्थकहरूले पनि सामाजिक सञ्जाल मार्फत युवा नेतृत्वको पक्षमा आवाज उठाउँदै मोहित शाहको नामलाई चर्चामा ल्याइरहेका छन्। यसले आगामी निर्वाचनमा नेपालगन्जको नेतृत्व परिवर्तन, विकासको नयाँ मोडेल र युवा सहभागिताबारे बहसलाई थप चासोपूर्ण बनाएको छ।
यद्यपि, मोहित शाहले मेयर पदमा उम्मेदवारी दिने विषयमा औपचारिक घोषणा गरिसकेका छैनन्। उनको नामलाई लिएर भइरहेको चर्चा र प्रचारलाई आगामी २०८४ सालको निर्वाचन लक्षित प्रारम्भिक राजनीतिक माहोलका रूपमा हेरिएको छ।


