११ भाद्र २०८३, बिहीबार

म ठूलो आवाजमा बोल्न जान्दिनँ, तर सुन्न जान्दछु – बिपिन आचार्य

एसीपी संवाददाता

१२ पुष २०८२, शनिबार ०७:४६ मा प्रकाशित

बिपिन आचार्य , रास्वपा महामन्त्री –  Biotech इन्जिनियरिङमा दुई पटक युनिभर्सिटी टप गर्दा मेरो सपना कहिल्यै देशको केन्द्रीय राजनीतिक आकाशमा पुग्ने थिएन। मेरो संसार प्रयोगशाला, पुस्तक र अनुसन्धानमै सीमित थियो। त्यसैले होला सायद आज पनि म राजनीतिमा विज्ञानकै भाषा प्रयोग गर्छु । डाटा,लजिक, संरचना, प्रणाली, पद्धति र परिणामको DNA । मलाई पार्टी‌ र राजनीति पनि वैज्ञानिक हुनुपर्छ भन्ने लाग्छ। राजनीतिको DNA मा इमानदारीता, राष्ट्र प्रेम, नागरिक,विधि ‌र पारदर्शिता‌ भएन भने त्यो फगत केही थान नेतालाई सत्ता प्राप्तिको एउटा अस्थायी यन्त्र मात्र बन्छ ।

‘KBC ’,LC’, ‘CP’ जस्ता कार्यक्रम पहिलो पटक नेपाली सञ्चार जगतमा भित्र्याएर नयाँ मानक स्थापित गर्दै गर्दा होस् होस या Galaxy4k मा Creative Director भएर आफ्ना सिर्जनात्मक क्षमतालाई देखाउँदा होस ,मनको कुनै गहिरो कुनामा एउटा खालीपन सधैँ बाँकी रहिरह्यो। राजनीतिमार्फत देशलाई योगदान दिन नसकेकोमा। हुन त “द लिडर” सो मार्फत राजनीतिमा पाइला टेक्ने ‌ कोसिस केही वर्ष अगाडि नगरिएको त होइन , सायद विधातालाई हामी त्यतिबेला रेडी छैनौँ भन्ने लाग्यो कि कोरोनाको कहर पृथ्वीमा पठाइदिए। आफूले गरेका विभिन्न उद्यमहरू होस,‌ या सफलता- असफलताको साँप सिढीवाला यात्रा , त्यसमा चमक थियो, वाह वाही थियो र रोलर कोस्टर अनुभव पनि।

यति हुँदाहुँदै पनि आफू आफ्नै देशमा अलि–अलि हराइरहेको जस्तो अनुभूति हुन्थ्यो। नागरिक र राज्यबीचको दूरीले पोलिरहन्थ्यो। सायद त्यसैले होला, engineering सक्काएर आफ्नै देश फर्किएको र विकृत राजनीतिलाई सङ्लो बनाउन तात्विक कुरा गर्न नपाएको पीडाले, खालीपनले, असन्तोषले २०७९ मा रवि लामिछाने,म लगाएत केहि साथीलाइ राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणको यात्रामा डोरायो । कतिलाइ आज पनि लाग्छ होला त्यो हुरी थियो, आवेग थियो। तर त्यो निर्णय कुनै आकस्मिक आवेग थिएन , त्यो त लामो समयको मिहिन ढङ्गको तयारी थियो। जसको एउटा महत्त्वपूर्ण सारथी बन्ने अवसर र चुनौती मैले पनि पाए ।

तपाइहरु धेरैलाइ थाहै छ , म सधैँ पर्दा पछाडि बसेर काम गर्ने रुचाउने मान्छे हुँ । नारा होइन, संरचनामा विश्वास गर्ने, क्षणिक चमक होइन, निरन्तरतामा भरोसा राख्ने। पार्टीको नाम के हुने, , चुनाव चिह्न के राख्ने ,रङ कस्तो राख्ने‌ यी सबै जिम्मेवारी भागमा पर्नु मेरो सौभाग्य थियो वा सायद राम्रो कर्मको नतिजा त्यो मलाई थाहा भएन। तर आज राष्ट्रिय स्वतन्त्र पार्टी, निलो रङ‌ र घण्टी जहीँ कहिँ देखिँदा, जहीकै बोलिदा गर्वले छाती ढक्क फुल्छ। अनि पार्टी निर्माणको क्रममा गरेको मेहेनत र नसुती बिताएका रातहरू तपाईहरु जस्ता देशलाई माया गर्ने साथीहरू नेपालभित्र र प्रवासबाट जोडिएको देख्दा मेहनत सार्थक भयो भन्ने लाग्छ

पर्दा पछाडि रहेर पार्टीको आत्मा निर्माण गर्ने जिम्मेवारी कमैले पाउँछन्। त्यो जिम्मेवारीमा नेतृत्वको अटुट‌ विश्वास अझ धेरै कम ले। म ति थोरै भाग्यमानीमा पर्छ‌ु जसले राजनीतिको नयाँ क्यान्भासमा नयाँ पेन्टिङ बनाउने मौका पाएको छ।

मलाई लाग्छ मैले आफूलाई दिइएको प्रत्येक जिम्मेवारी मेरो ल्याकतले भ्याएसम्म इमानदारीका साथ गरेको छु। । पार्टीले भोगेका उतार–चढावमा, तपाईँहरूजस्तै, मेरा आँखाले पनि धेरै रात निदाउन पाएका छैनन्। थाकेर सुस्ताउन पाएका छैनन्। देशप्रतिको, पार्टीप्रतिको, र आफ्नै अन्तरात्माप्रतिको को जिम्मेवारीले अझै केही समय सुस्ताउन पाउने अवस्था पनि छैन।

२०७९ को चुनावमा साथीहरूलाई एक–एक गरी जोड्ने काम होस वा बाचापत्र तयार पार्ने, विधान को प्राइमरी फ्रेमवर्क बनाउने कुरा होस् पार्टीको‌ मोबाइल एप निर्माणको नेतृत्व गरी पार्टीलाई सही अर्थमा डिजिटल डेमोक्रेसीको पायोनियर बनाउने कुरा होस , पार्टीका आधिकारिक सामाजिक सञ्जाललाई दिशा दिने, पार्टी कार्यक्रमहरूलाई व्यवस्थित र मर्यादित रूपमा अघि बढाउने यी सबै प्रक्रियामा मैले मेरो क्षमताले भ्याउने जति नेतृत्व गरेँ।

यी कामहरू मञ्चका भाषणमा देखिँदैनन्, तर यिनै अदृश्य श्रमले संगठन उभिन्छ। त्यही अनगिन्ती नदेखिने कामकै अर्को एउटा सिलसिला ‌हो उम्मेदवार छनोट रुपरेखा। यो रूपरेखा यो देशले अब अयोग्यतासँग सम्झौता नगरोस्, इमानदारीलाई अपवाद नठानियोस्, र जिम्मेवारीबाट भाग्ने नेतृत्व नदोहोऱियोस् भन्ने गहिरो सपना हो। यदि राजनीति भविष्यको काम हो भने, विधि निर्माण त्यो भविष्यतर्फको पहिलो इमानदार कदम हो।

म ठूलो आवाजमा बोल्न जान्दिनँ, तर सुन्न जान्दछु। म भाषणको भाषा होइन, मान्छेको भाषा बुझ्न प्रयास गर्छु। हरेक व्यक्तिलाई सम्मानसहित सुन्न र बुझ्न सक्छु। मसँग भएका यी साना–साना गुणहरू कुनै कमजोरी होइनन्; यिनैले असल राजनीति सम्भव छ भन्ने विश्वास दिलाउँछन्। म नेता बन्ने होडमा होइन, उदाहरण बन्न चाहन्छु ठूलो नाराको रूपमा होइन, इमानदार उपस्थितिका रूपमा।

यदि यही विधिबाट म छानिन्छु भने, म त्यसलाई कहिल्यै व्यक्तिगत जितको रूपमा हेर्ने छैन। त्यो मेरो लागि पद प्राप्तिको उत्सव नभई इमानदारीमाथि विश्वास गरिएको प्रमाण हुनेछ, विधिमाथि गरिएको भरोसाको साक्ष्य हुनेछ। किनकि राजनीति कुर्सीका लागि होइन, भविष्यको दिशा तय गर्नका लागि हुनुपर्छ।

मलाई धेरै कुराहरू गर्न आउँदैन तर जे आउँछ त्यो म बबाल गर्न जान्दछु। मैले जानेका काममध्ये एउटा चुनावी क्याम्पेनको नेतृत्व गर्नु हो। मैले मेरो त्यो क्षमता मेरो एकल ब्रान्ड बिल्डिङमा खर्च गर्ने कि समग्र पार्टी संरचनाका लागि भन्ने प्रश्नको जवाफ आजसम्म मैले मेरो कर्मले दिँदै आएको छु। मलाई फेरि पनि मेरो पर्सनल यात्रामा कुनै रुचि छैन। विषम परिस्थितिमा हुन लागेको चुनावमा पार्टीलाई सशक्त दल बनाउनका लागि पर्दा पछाडि बसेर काम गर्ने मेरुदण्ड चाहिन्छ। म त्यही मेरु दण्डको एउटा बलियो आधार स्तम्भ बन्न चाहन्छु। त्यसैले उम्मेदवार छनोट रूपरेखा निर्माण र त्यसको समानुपातिक तर्फको संयोजकत्व छोडेर त्यही विधि मार्फत छनोट प्रक्रियामा सहभागी भएको हुँ। आफैंले बनाएको विधि‌‌ मार्फत आफूलाई परख गर्ने हिम्मत राख्नु नियत, ‌ समता ‌र पारदर्शिता प्रतिको सबैभन्दा ठूलो सम्मान हो जस्तो मलाई लाग्छ।

काम नगर्नेले एकपटक मात्र गाली खान्छ “किन काम गरिनस् भनेर”, काम गर्नेले गाली खाइरहन्छ। मैले गरेको कामले‌ यदि देश र पार्टीको हित गर्छ भने म त्यो गाली खान हर प्रहर तयार छु। धेरैले मलाई भन्छन् “तपाईं अलि धेरै भावनात्मक हुनुहुन्छ, मलाई लाग्छ म भावनात्मक त छु नै , वस्तुपरक र विधिको हिमायती पनि । ‌ भावनाबाट नै देशप्रतिको चिन्ता जन्मिन्छ, अनि वस्तुपरक विधि प्रति कटिबद्ध र फ्रेमवर्क बिल्ड अप गर्न सक्ने क्षमता भएका व्यक्तिहरूले मात्र देशलाई सही दिशा दिन सक्छन्। देश बनाउँछु भन्नु र देश बनाउने ल्याकत राख्नु फरक कुरा हुन्। र देश बनाउन, देश बनाउने मूल अर्थात् पार्टी विधिमा चल्नुपर्छ, ‌ म त्यही विधि बनाउने‌ इमान्दार कोसिस गर्न आएको हुँ।

राजनीति आत्मप्रचारको रंगमञ्च होइन यो जवाफदेहीताको कठोर अभ्यास हो। र म यही अभ्यास, यही इमानदारी, यही भावनालाई राजनीतिमा सम्भव छ भन्ने सानो उदाहरणका रूपमा बाँच्न चाहन्छु। ठूलो आवाजले होइन, तर दृढता र सत्यताका साथ उपस्थित भएर। यहाँसम्मको साथ र समर्थनका लागि आभार। धन्यवाद, जय घन्टी।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x