यस्तै, हालसम्म भए गरेका कार्यहरु गैरप्रशासनिक एवं अनुचित तवरले गरेको देखिएकोले; उप्रान्त उक्त जग्गाको राजश्व नलिन र कम्प्यूटर प्रविष्टि हटाउन पनि प्रमुख जिल्ला अधिकारी अर्यालले मालपोत कार्यालयलाई निर्देशन दिएका छन् । ‘तयार भएको (श्रेष्ता) रद्द गरी सो को जानकारी दिन तत् तत् कार्य प्रकृतिसँग सम्बन्धित निकायहरुमा लेखी पठाउने’, टिप्पणी आदेशमा भनिएको छ ।
यस्तै, उल्लेखित जग्गाको विषयमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई सुरुवातमै श्रोतमै निरुत्साहित गर्न जग्गालाई तारबार गरी छुट्टयाउने, सर्वसाधारणले देख्ने गरी ‘सार्वजनिक जग्गा’को सूचना पाटी राख्न लगाउने लगायतका संरक्षणात्मक कार्य गर्न सिद्धार्थनगर नगरपालिकालाई लेखी पठाउने पनि टिप्पणी आदेशमा उल्लेख छ । ‘प्रस्तुत निर्णयको कार्यान्वयनको सुनिश्चितता लागि सुक्ष्म तवरले अनुगमन गर्ने, यस कार्यमा संलग्न व्यक्ति तथा पदाधिकारीहरुलाई कारवाही गर्न गराउन जिल्ला प्रहरी कार्यालयमा लेखि पठाउने’, प्रजिअ अर्यालले गरेको निर्णयमा भनिएको छ । अर्यालले यो प्रकरणमा संलग्न सबैलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिएको जनाए ।
संसान घाटको जग्गा आफ्नो नाममा बनाउने घिमिरेको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिएको देखिए पनि मालपोतबाट भने २०७१ सालमा घिमिरेका नाममा दर्ता गरिएको थियो । मालपोत कार्यालय बुटवलबाट ०७१ सालमा उक्त जग्गा घिमिरेका नाममा कम्प्युटरमा इन्ट्री भएको पाइएको थियो । घाटको जग्गा व्यक्तिका नाममा गएको जानकारी पाएपछि स्थानीयले विभिन्न ठाउँमा उजुरी दिएका थिए । त्यसपछि प्रशासनले छानविन सुरु गरेको थियो । छानविन पछि सार्वजनिक जग्गा भएको एकीन भएको र जग्गा रद्द गर्न आदेश गरिएको प्रशासनले जनाएको छ ।



