१२ मंसिर २०८३, शुक्रबार

रुसी सेनामा भर्ती भएका नेपालीबारे सरकार बेखबर

एसीपी संवाददाता

१९ जेष्ठ २०८१, शनिबार ०९:३६ मा प्रकाशित

काठमाडौँ —रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका नेपालीहरूका बारे सरकार अझै बेखबर छ । सरकारले रुसी पक्षबाट युक्रेनसँगको युद्धमा जेठ १ सम्म २३ जनाको मृत्यु भएको तथा ५ जना युक्रेनी सेनाको कब्जामा रहेको पत्ता लगाए पनि थप विषयमा कुनै पनि जानकारी पाएको छैन । रुसी सेनामा कति नेपाली भर्ती भएका छन् र मृत्यु हुनेको संख्या कति पुग्यो भन्नेबारेमा हालसम्म प्रस्ट तथ्यांक आएको छैन ।

हुन त नेपालले करोडौं रुपैयाँ खर्च गरेर मस्कोमा नेपाली दूतावास खोलेको छ । जहाँ रुसका लागि नेपाली राजदूतका रूपमा मिलन तुलाधर कार्यरत छन् ।

तर नेपालीको अवस्थाबारे न त मस्कोमा रहेको नेपाली दूतावासलाई थाहा छ, न त रुसी सरकारले काठमाडौंस्थित नेपाली दूतावासबाट कुनै ठोस सूचना दिएको छ । सन् २०२२ फेब्रुअरी २४ बाट सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा सम्झौता गर्दै नेपालीलाई भर्ती गर्दै आएको छ । नेपालीहरू रुसी सेनामा भर्ती भएको युद्धपछि थाहा भए पनि त्यसपछि कहिले, कहाँ र कति संख्यामा नेपाली भर्ती भएका छन् भन्ने जानकारी परराष्ट्र मन्त्रालयसँग पनि छैन । मुलुकमा संकट र अप्ठ्यारो अवस्थामा कूटनीतिक पहलमार्फत गाँठो फुकाउनुपर्नेमा हालसम्म सुरुआतकै दिनमा जस्तो अवस्था रहेको देखिन्छ । मृत्यु हुनेको परिवारलाई क्षतिपूर्ति दिनेबाहेक रुसले हालसम्म नेपाली नागरिकका विषयमा नेपाल सरकारलाई कुनै पनि जानकारी दिन सकेको छैन ।

पूर्वराजदूत प्रा. विजयकान्त कर्ण रुसी सेनामा भर्ती भएका नेपालीबारे हालसम्म पनि नेपाल सरकार बेखबर हुनुमा नेपाल सरकार र रुसी सरकार दुवै जिम्मेवार रहेको मान्छन् । उनका अनुसार रुसले नेपाललाई नगनेको प्रस्ट पारे । ‘नेपालका सरकारी एजेन्सीहरूबीचमा समन्वय र एकीकृत रूपमा काम गर्ने शैली छैन । अहिले पनि विभिन्न सरकारी कार्यालयहरूबाट भ्रष्टाचार गरेर नेपाली नागरिकलाई रुस पठाइरहेका छन्,’ उनले भने, ‘रुसका युवाहरू आफ्नो सेनामा भर्ती हुन तयार छैनन्, जुन कारणले गर्दा नेपालजस्ता मुलुकबाट युवाहरू लगिरहेका छन् ।’ पूर्वराजदूत कर्ण नेपालले अब रुससँग राम्रो सम्बन्ध भएका मुलुकहरू भारत र चीनको साथ लिएर आफ्ना नागरिकबारे बुझ्नुपर्ने ठान्छन् । उनले थपे, ‘नत्र नेपालले यूएनलगायत बहुपक्षीय फोरमहरूमा रुसविरुद्ध आवाज उठाउनुपर्ने हुन्छ ।’

रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानले भने हालसम्म ३९ जना नेपालीको युद्धमा मृत्यु भइसकेको दाबी गरेको छ । उनीहरूले परिवारले काजकिरिया गरेका आधारमा उक्त संख्या निकालेको अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन् । रुसी सेनामा भएको नेपालीको अवस्थाबारे आफूहरू गम्भीर रहेको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उल्लेख गर्दै आइरहेका छन् । ‘हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं । हामीले आफ्ना नागरिकको हितमा हुने गरी सबै पक्षबाट पहल गरिरहेका छौं,’ उनको भनाइ छ

श्रेष्ठका अनुसार नेपाली पक्षले रुसी पक्षसँग रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु भएका नेपालीको शव नेपाल पठाइदिन, युद्धमा मृत्यु हुने नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन, युद्धमा घाइते भएका र रुसी सेनामा भर्ना भएका सबैलाई फिर्ता पठाइदिन, नेपालीलाई रुसी सेनामा भर्ती नगराउन, रुसी सेनामा भर्ती भएका नेपालीको संख्या नेपाल सरकारलाई जानकारी दिन, रुसी सेनामा भर्ती भएर युक्रेनी सेनाको कब्जामा परेकाको जानकारी दिन तथा उच्च तहको भ्रमण मिलाउन आग्रह गरिसकेको प्रस्ट पारे । तर रुसी पक्षबाट भने शव नेपाल पठाइदिन्छौं र मृत्यु हुनेका परिवारलाई क्षतिपूर्ति दिन्छौं भन्नेबाहेक हालसम्म अन्य कुनै जवाफ आएको छैन ।

उपप्रधानमन्त्री श्रेष्ठले गत फागुन २४ मा रुसी विदेशमन्त्री सर्गेर्ई लाभ्रोभसँग टेलिफोन संवाद गरेका थिए । कुराकानीमा पनि रुसी पक्षसँग उनले यही कुरालाई जोड दिएका थिए । तर त्यतिबेला पनि रुसी विदेशमन्त्री लाभ्रोभले युद्धका क्रममा मारिएकाका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भए पनि अन्य विषयमा भने चर्चा गर्न चाहेका थिएनन् । श्रेष्ठले लाभ्रोभसँगको कुराकानीमा सम्भव भए रुसबाट नेपाल भ्रमण वा नेपालबाट रुस भ्रमण गर्न आग्रह गरेका थिए । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x