१२ मंसिर २०८३, शुक्रबार

रोहिङ्या मुस्लिमलाई कोरोना खोप दिदै

एसीपी संवाददाता

२७ श्रावण २०७८, बुधबार ०१:४४ मा प्रकाशित

कोरोना भाइरस सङ्क्रमणको उच्च वृद्धिको सामना गरिरहेको बङ्गलादेशले मंगलबारदेखि उच्च जोखिमबीच शिविरहरूमा बसिरहेका रोहिंज्या शरणार्थीहरूलाई खोप अभियान सुरू गरेको छ ।

विकासोन्मुख दक्षिण एसियाली यस राष्ट्रमा म्यानमारबाट आई शरणार्थीका रूपमा बसिरहेका हजारौँ रोहिंज्या समुदाय कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिमबीच शिविरमा बस्दै आएका छन् ।

स्वास्थ्य अधिकारीका अनुसार करिब आठ लाख ५० हजार रोहिंज्या बसोबास गर्ने शिविरहरूमा अहिलेसम्म दुई हजार ६०० व्यक्ति सङ्क्रमित भइसकेका छन् भने २९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । कोभिड–१९ का कारण संसारका जेलमा रहेका कैदीबन्दीलाई समेत मुद्दा हेरेर रिहा गरी जेल जीवनलाई खुकुलो र सुरक्षित बनाएका घटनाहरू सञ्चारमाध्यममा आएका भएपनि शरणार्थी शिविरको भिडभाडयुक्त वातावरणमा पनि सङ्क्रमण नियन्त्रणका लागि लिइनुपर्ने सावधानी नअपनाइएको भनी विशेषज्ञहरूले आलोचना गर्दै आइरहेका छन् ।

चीनमा निर्मित सिनोफार्म खोप लगाइने, शरणार्थीद्वारा खुशी व्यक्त

स्थानीय स्वास्थ्य प्रमुख महबुबुर रहमानले एएफपीलाई बताएअनुसार खोप अभियान अन्तर्गत प्रारम्भिक चरणमा ५५ वर्ष नाघेका लगभग ४८ हजार शरणार्थीहरूले आगामी तीन दिनमा चीनमा निर्मित सिनोफार्म खोप लगाउने छन् ।

६ लाखभन्दा बढी मानिसहरू बसोबास गर्ने सबैभन्दा ठूलो शरणार्थी बस्ती कुटुपालोङमा खोप लिएर स्वास्थ्यकर्मीहरू शिविरमा प्रवेश गर्दा थुप्रै वृद्धलगायत रोहिंज्या शरणार्थीहरू हर्षित देखिन्थे । शिबिरको भीडकाबीच पनि शरणार्थी अनुशासित भई खोपका लागि लामवद्ध भएका थिए ।

‘हामी कोरोनादेखि डराउँछौँ । हामीले खोप लगाइदियौँ भने राम्रो हुन्छ भन्ने सुनेका थियौं । त्यही भएर आज म यहाँ आएकी हुँ,’ उमेरले ६० वसन्त पार गरेकी रहिमा खातुनले भनिन् ।

‘अहिलेको सङ्कटको पार गर्न हामीलाई खोप चाहिन्छ । यसले हामी सबैलाई चिन्ता लागेको रोगबाट बचाउनेछ,’ अर्का एक वृद्ध मोहम्मद जाफरले भने ।

शरणार्थीहरू बसोबास गर्ने झुपडीहरूमा स्वयंसेवकहरू घर–घरमा गएर शिविरहरूमा बृहत् जागरूकता अभियान सञ्चालन गरेको बङ्गलादेशी अधिकारीहरूले बताएका छन् ।

बङ्गलादेशका शरणार्थी उप–आयुक्त शमसुद दुजाले एएफपीलाई बताएअनुसार विवादबीच बङ्गालको खाडीको एउटा टापुमा सारिएका १८ हजार रोहिंज्याको लागि पनि यस हप्ता खोप अभियान सुरु हुनेछ ।

हालैका महिनाहरूमा बङ्गलादेशमा कोभिड सङ्क्रमण दरमा निकै वृद्धि भएको छ । १६९ लाख मानिसहरूको देशको अधिकांश भाग रोहिंग्या शिविरलगायत बन्द अवस्थामा छ।

बङ्गलादेशमा झन्डै २३ हजार कोभिड सङ्क्रमितको मृत्यु भएको छ भने एक करोड ४० लाख व्यक्ति सङ्क्रमित बनेका छन् । तीमध्ये अधिकांश हालैका महिनाहरूमा सङ्क्रमित भएका छन् । लगभग ९८ प्रतिशत नयाँ सङ्क्रमणहरू छिमेकी भारतमा पहिलो पटक पत्ता लागेको कोभिडको ‘डेल्टा भेरियन्ट’बाट आएका बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x