१२ मंसिर २०८३, शुक्रबार

लुम्बिनी प्रदेश बिवादमा सर्बोच्चले उपेन्द्र यादवको निर्णय गर्‍यो खारेज

एसीपी संवाददाता

४ जेष्ठ २०७८, मंगलवार ०५:३८ मा प्रकाशित

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको गल्ती औल्याएको छ । लुम्बिनी प्रदेशमा एकलौटी रुपमा चार सांसदलाई पदमुक्त गरेको प्रकरणमा सर्वोच्चले उपेन्द्रले गरेको गल्ती पत्ता लगाएर किन गल्ती गरेको भनि कारण सोधेको छ ।

उपेन्द्रको गल्तीलाई साथ दिएका माओवादी निकट प्रदेशसभा सभामुख पूर्णबहादुर घर्ती पनि कानुनी फन्दामा परेका छन् । उपेन्द्रको गल्तीलाई हेर्दै नहेरी किन साथ दिएको, गल्तीलाई सदर गर्दै किन निर्णय गरेको भनि घर्तीलाई पनि अदालतले कारण सोधेको छ । कारण १५ दिनभित्र पेस गर्न भनेको छ । र दुबैपक्षसँग छलफलका लागि जेठ १६ गतेलाई पेसी तोकेको छ । साथै त्यतिञ्जेल पदमुक्त गर्ने आदेश कार्यान्वयन नगर्न आदेश पनि दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमवार सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा र कल्पना पाण्डेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदनमा जसपा अध्यक्ष उपेन्द्र यादव, संसदीय दलका नेता सहसराम यादव, सभामुख पूर्णबहादुर घर्ती र प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरलाई विपक्षी बनाइएको थियो ।

आदेशमा भनिएको छ, ‘लुम्बिनी प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने लुम्बिनी प्रदेश सभाका सभामुखको मिति २०७८.१.१६ को निर्णय, प्रदेश सभाको सूचना एवम् सो सम्बन्धी पत्राचार कार्यान्वयन नगर्नु नगराउनु, यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ख। यो आदेशको जानकारी विपक्षीहरूलाई दिनू ।’

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आएको अविश्वासको प्रस्तावबाट पछि हटेर जसपाका चार जना सांसद वैशाख ६ गते मन्त्री बनेका थिए । प्रदेश कमिटीले मन्त्री पदबाट फिर्ता बोलाउँदा नआएपछि उनीहरुलाई केन्द्रमा उपेन्द्र र बाबुराम भट्टराई समूहको कार्यकारिणी समितिको वैशाख १४ गते बसेको भनिएको बैठकको बहुमत हस्ताक्षरसहित कारवाही निर्णयको पत्रका आधारमा १६ गते प्रदेशसभा सचिव घर्तीमगरले विज्ञप्ति जारी गरे पदमुक्त गरेका थिए ।

यसविरुद्ध चार जनाले त्यतिबेलै सर्वोच्चमा मुद्दा दर्ता गर्न खोजे पनि कोभिड महामारीका कारण सेवा कटौती हुँदा दर्ता भएन । वैशाख ३१ को पूर्ण बैठकले संवैधानिक व्याख्या सम्बन्धी रिट हेर्ने निर्णय गरेपछि आइतवार रिट दर्ता भएको थियो । रिटमा वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, विजयकान्त मैनाली, अधिवक्तात्रय ईश्वरीप्रसाद भट्टराई र पंकजकुमार कर्ण र ओमप्रकाश सिंहले बहस गरेका हुन् ।

उपेन्द्रको त्यो गल्ती अदालतले औल्याएको उपेन्द्रको गल्ती भनेको प्रदेशसभाको सदस्यबाट निष्कासन गर्दा स्पष्टीकरणको मौका सांसदलाई नदिनु। अदालतले उपेन्द्र र प्रदेश सभामुख घर्तीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ ले सो ऐनको दफा २८ (३) बमोजिम निर्देशन पालना नगर्ने (ह्विप उल्लङ्घन गर्ने) सदस्यको विवरण सम्बन्धित दलको सचेतकले केन्द्रीय समितिलाई पठाउनु पर्ने, केन्द्रीय समितिले सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेश गर्ने मनासिव मौका दिनुपर्ने र त्यस्तो सफाइ प्राप्त भएपछि दलको केन्द्रीय समितिले नै जवाफ सन्तोषजनक भए नभएको निर्णय गरी सन्तोषजनक नभएमा आधार र कारण खुलाई दलको सदस्यताबाट निष्कासन गर्न सक्ने भन्ने व्यवस्था रहेको पनि ध्यानाकर्षण गराइएको छ ।

आदेशमा भनिएको छ, ‘तथापि यी निवेदकहरूलाई निष्कासन गर्नु अघि सो दलको केन्द्रीय समितिले स्पष्टिकरण पेश गर्ने मौका प्रदान गरेको भन्ने निवेदन लेख तथा मिसिल संलग्न कागजातबाट देखिन नआएकोले संसदीय दलको सदस्यबाट निष्कासन गर्दा सम्बन्धित दलले अनिवार्यरूपमा सफाइको समुचित मौका दिनुपर्ने कार्यविधिको पालना नगरी प्राकृतिक न्यायको सिद्धान्तको उल्लङ्घन गरेको प्रथम दृष्टिमा नै देखिन आयो ।’

त्यसैगरी आदेशमा अगाडि भनिएको छ, ‘उक्त प्रक्रिया अवलम्बन नगरी संसदीय दलको सदस्यबाट निष्कासन गरेको भनिएको पत्रको आधारमा लुम्बिनी प्रदेश सभाका सभामुखबाट यी निवेदकहरूलाई प्रदेश सभा सदस्यबाट निष्कासन हुने निर्णय गरी सूचना प्रकाशित भएको देखिँदा सुविधा र सन्तुलनको दृष्टिले समेत दुवै पक्षबीच छलफल भई अन्तरिम आदेश जारी हुने/नहुने निर्क्यौल हुने ।’ अदालतले जेठ १६ सम्मलाई भने कारवाही सम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x