विपक्षीलाई पेलेर जाने काङ्ग्रेस तयारी , अध्यादेश २०७८ प्रस्तुत
भदौ २४ गते बिहीबार । एसीपी न्युज / प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बाबजुत प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको तेश्रो बैठकमा एमाले सांसदको अवरोधका बाबजुत सभामुख अग्नी सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश गर्न समय दिनुभएको थियो । लगतै गृहमन्त्री खाँणले उक्त अध्यादेश बैठकमा टेबल गर्नुभएको थियो । सभामुखले कार्यसूची अघि बढाउदा एमाले सांसदहरु नारावाजी गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए ।
अध्यादेश टेबल भएपछि सभामुख सापकोटाले अर्काे बैठक भाद्र २५ गते बस्ने गरि स्थगीत गर्नुभएको छ ।
संविधानको धारा ११४ मा संसद् बैठक नभएको बेला सरकारले जारी गरेको अध्यादेश संघीय संसद् सुरु भएको पहिलो बैठकमा पेस गर्नुपर्ने प्रावधान छ । ‘संविधानमै संसद् बसेको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्ने व्यवस्था भएकाले पटकपटक बैठक राख्नुपरेको हो, अध्यादेश नभएको भए जबर्जस्ती बैठक चलाउनुपर्ने बाध्यता थिएन,’ संसद्का एक पदाधिकारीले भने ।
सरकारले संसद् अधिवेशन हठात् अन्त्य गरेर एमाले र जसपा फुटाउन सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशप्रति एमाले असन्तुष्ट छ । आफ्ना १४ सांसदलाई कारबाही गर्न दिएको सूचना बेवास्ता गरेको भन्दै सभामुखसँग एमाले आक्रोशित छ ।
बुधबार अपराह्न ४ बजे सुरु भएको बैठक ११ मिनेट मात्रै चलेको थियो । सभामुख सापकोटाले राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेको पत्र वाचन गरिसक्नेबित्तिकै एमाले सांसदहरूले जुरुक्क उठेर बैठक अवरुद्ध गरेका थिए । तर सभामुख सापकोटाले ‘मैले अरू केही गरेको छैन, स्वागत गर्न त पाइन्छ होला नि’ भन्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई ५ मिनेट बोल्ने समय दिए ।


