काङ्ग्रेसलाई हिन्दूराष्ट्रबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न दबाब
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दू राष्ट्रको बारे अथवा धर्मनिरपेक्षताको बारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न पार्टी भित्र देखि अन्तराष्ट्रिय स्तरबाट समेत तिब्र दबाब आइरहेको बताइएको छ।
दोश्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अहिले त्यससम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई नियुक्तिको परमादेश माग सहित मुद्धा विचाराधीन अवस्थामा रहेका बेला देउवामाथि हिन्दू राष्ट्रबारे आधिकारिक धारणा सार्वजनिक गर्न दबाब बढ्नुलाई अर्थपूर्ण हिसाबले लिइएको छ।
कांग्रेसका एक केन्द्रिय सदस्यका अनुसार कांग्रेस भित्र संवैधानिक राजसंस्था सहितको हिन्दू राष्ट्रका पक्षधर धेरै रहेको तर बाहिर देखिन मात्र नसकेको स्थिति छ। १३औँ महाधिवेशनमा उक्त समूहले बिना सर्त देउवालाई समर्थन गरेको थियो। हिन्दू राष्ट्रको पक्षमा आफूले माहोल बनाउने बाचा गरेका देउवाले सभापतिमा निर्वाचित भएपछि भने कुनै काम गरेनन्। त्यति मात्र होइन उनकै जोडबलमा महासमितिमा हिन्दू राष्ट्र बारे बहस पनि चलाउन दिएनन्।
ती नेताले भने, ‘देउवाजीले धोका दिनुभयो। अब उहाँलाई सहयोगमात्र होइन हामी हराउन नै लाग्छौ। हिन्दू राष्ट्र बारे गरेको वाचा उहाँले बिर्सिनु भयो। अब अहिले भूराजनीतिक भूमरीमा फस्नु भएको छ।’
देउवालाई हिन्दूवादी संस्थाहरुमा आफ्ना मान्छे भर्ति गरेर हिन्दूवादी शक्तिलाई ‘न्युट्रलाइज’ गर्न पश्चिमा शक्तिलाई सहयोग गरेको पनि उनले आरोप लगाए। ती नेताले भने, ‘हिन्दू महासंघ देखि हिन्दूवादी संस्थामा उनले मान्छे भर्ति गरेका छन्। तर उनि आफैँ त्यो मुद्धामा सिरियस छैनन्। त्यसैले अब यिनीबाट हुँदैन भन्ने पक्का भइसक्यो।’
पार्टी भित्रबाट मात्र होइन देउवालाई भारतले पनि सुरुका दिनमा अत्यन्त्तै विश्वास गरेको थियो। विशेष गरि भारतले देउवालाई अघिल्लो महाधिवेशन अघि हिन्दूराष्ट्रको मुद्दामा अघि बढ्न आग्रह गरेको थियो। देउवाले पनि हिन्दू राष्ट्रको बारे माहोल तयार पार्ने आश्वासन दिएका थिए भारतीय संस्थापन पक्षलाई। तर त्यस अनुरुप उनि कहिल्यै प्रस्तुत भएनन्। एकाध पटक हिन्दू राष्ट्रबारे छलफल गर्न सकिने भनेर सार्वजनिक कार्यक्रममा बोल्नु बाहेक।
भारत कांग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्रको मुद्धालाई देउवाले न्यूट्रलाइज गरिदिएपछि पहिलोपटक झस्किएको थियो। अहिले देउवा प्रधानमन्त्री हुन सक्ने स्थिति आएपछि उनीबाट हिन्दूराष्ट्रको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न विभिन्न माध्यमबाट भारतले दबाब दिइरहेको छ।
कांग्रेसका नेता अमरेश कुमार सिंहले देउवाले भारतसँग हिन्दू राष्ट्रबारे सहमति गरेको बताए। सिंहले नेपाली नेताहरुमा बन्द कोठामा जे पनि सहमति गरिहाल्ने तर बाहिर आएर सहमति लत्याउने बानी रहेकोले देउवाको सन्दर्भमा पनि त्यो लागु हुने बताए। उनले भने, ‘नेपाली नेताहरुमा यस्तो गुण भनौ कि अवगुण छ कि उनीहरु कोठा भित्र जस्तो पनि सहमति गर्छन बाहिर निस्केपछि त्यो सहमति पुरा गर्दैनन्। त्यतिबेला पनि त्यही भएको हो।’
अहिले भारतको संस्थापन समूहले नेपालका शिर्षस्त नेताहरुलाई कांग्रेस आइको लाइन छोड्न चेतावनी नै दिएको छ।
त्यसैको संकेत स्वरुप केही दिन अघि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग भेटवार्ता गर्दै नेपालले आफ्नो कुटनीतिक प्रवृत्ति बदल्न आग्रह गरेका थिए। उनले भारत सरकारसँग सिधा सम्पर्क गर्न मिल्ने स्थितिमा पनि विपक्षी दल कांग्रेस आईसँग सल्लाह गर्नु पर्ने आवश्यकता नरहेको औलाएको कुरा नेपालका सञ्चार माध्यममा आएका थिए।


