२४ मुद्दाका २०८ जनामध्ये पहिलो चरणमा १५ मुद्दासँग जोडिएका १२० जनालाई रिहा निर्णय गर्दा मधेसी नेताको प्रतिक्रिया
काठमाडौं । सरकारले मधेस आन्दोलनका १५ मुद्दासँग जोडिएका १२० जनाको मुद्दा फिर्ता लिएको छ ।
मधेसका ५ जिल्लाका २४ मुद्दाका २०८ जनामध्ये पहिलो चरणमा १५ मुद्दासँग जोडिएका १२० जनालाई रिहा गर्ने निर्णय गरेको हो । मधेसका मागहरुमा प्रमुख माग झुठा मुद्दा फिर्तामा अहिले त्यो मागलाई सरकारले सम्बोधन गर्न सुरु गरेपछि जसपाका नेताले स्वागत गरेका छन् ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतो सरकारसँग विश्वासको वातावरण तयार भएको बताउँछन् । ‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ । सरकारले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा जसपा नेपालले धन्यवाद ज्ञापन गर्दछ । सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ ।’
अर्का नेता शरत्सिंह भण्डारीले पनि मुद्दा फिर्ताका लागि सरकारलाई धन्यवाद दिए । ‘यो राम्रो सुरुवात हो । यसलाई जसपा नेपाल स्वागत गर्दछ । तर अहिले नै सरकारलाई समर्थन गर्ने अवस्था रहेको छैन,’ उनले भने । आफ्ना पाँचवटै माग पूरा भएपछि सत्तासमीकरण बारे अघि बढ्न सकिने उनको भनाइ छ ।
मुद्दा फिर्ता, राजबन्दी रिहाइ, नागरिकताको विषय, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग पुरा भएपछि मात्र सरकारलाई समर्थन गर्ने कि नगर्ने विषयमा छलफल हुने उनी बताउँछन् ।नेपालपाना


