महासमितिका बेला गगन-शेखर समूहबीच ठूलो दरार, गगनको कार्यक्रम बहिस्कार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू निकटका नेताहरूको गुटको बैठक राखेर छलफल गरेका छन् । शनिबार काठमाडौंको नयाँबानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्डमा कांग्रेसका केन्द्रीय सदस्य, पदाधिकारी, सांसद, महासमिति सदस्यहरूसँग थापाले छलफल गरेका हुन् ।
महासमितिको बैठकमा उठाउने एजेण्डा र प्रस्तुतिका विषयमा महामन्त्री थापाले परामर्श गरेका हुन् । महामन्त्री थापाको गुटको बैठकमा नेता शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल आएनन् । शेखर कोइरालाले आइतबार अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा गुटको भेला राखेका छन् ।
चियापानको बहाना बनाएर महासमितिका सदस्यहरूलाई शेखर कोइरालाले बोलाएका छन् । महामन्त्री थापाले बोलाएको गुटको बैठकमा नेताहरू सरिता प्रसाइँ, चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रतिमा गौतम, टेकराज पौडेल, मनोजमणि आचार्य, बिक्रम खनाल, नीमा गिरी लगायतको उपस्थिति रहेको थियो ।


