१२ मंसिर २०८३, शुक्रबार

बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थान तथा संचालन गराउने भन्दै दिए ज्ञापनपत्र

एसीपी संवाददाता

१४ फाल्गुन २०८०, सोमबार ०७:४५ मा प्रकाशित

काठमाडौं – उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका माननीय सभापति अब्दुल खांन लाई सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थान तथा संचालन गरी रोजगारीको सिर्जना गर्ने सम्बन्धमा ज्ञापनपत्र जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले हस्तानतरण गर्नु भएको हो।

ज्ञापनपत्र

माननीय सभापति अब्दुल खांन ज्यू,
नेपाल सरकार,
उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति, सिंहदरबार, काठमाडौं, नेपाल ।
#विषय : सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थान तथा संचालन गरी रोजगारीको सिर्जना गर्ने सम्बन्धमा ज्ञापनपत्र ।
महोदय,

आर्थिक परिवर्तनमा राज्यको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यो कुरा सन् १९५० को दशक पछिका दक्षिण कोरिया, चीन, सिंगापुर, मलेसिया, थाइल्याण्ड, स्वीजरल्याण्ड जस्ता उदीयमान देशहरूको उदाहरणबाट पनि स्पष्ट हुन्छ । आर्थिक उन्नतिको लागि उद्योग तथा कलकारखानामा राज्यले नै प्रत्यक्ष रूपले लगानी गरेर नै ती राष्ट्रहरूले समृद्धि र विकास हासिल गरेका हुन् । विश्वमा थुप्रै यस्ता उदाहरणीय र अनुकरणीय दृष्टान्तहरू छन् । राज्यले सकेको खण्डमा स्वयंले गरेर तथा नसकेको खण्डमा गर्न सक्नेहरूका लागि बाटो खोलेर राज्यहरू आर्थिक रूपमा अगाडि बढेका छन्, र द्रुत गतिमा आफ्नो देशको विकास र समृद्धि हासिल गरेर विश्वका सामु शिर ठाडो पारेका छन् ।

२०४६ सालको परिवर्तनपछि नेपालले उदारीकरणको नीतिलाई अख्तियार गरेपछि सरकारी स्वामित्वका उद्योगहरूलाई निजीकरण गरियो । निजीकरण हुन बाँकी सरकारी स्वामित्वका अन्य उद्योग तथा कलकारखाना पनि अहिले बन्द अवस्थामा छन् । कतै न कतै व्यापारी, कर्मचारी र राजनीतिक नेतृत्वका गलत नीति र वैचारिकीको कारण ती धराशायी भएका छन् । निजी र निजीकरणको आधार बजारीकरण हो भने बजारहरू आर्थिक विकासलाई प्रवर्द्धन गर्ने शक्तिशाली संयन्त्रहरू हुन्, तर तिनीहरू प्रायः आर्थिक गतिशीलता र दिगो आर्थिक विकासलाई चाहिने सामाजिक न्यायसहित उत्पादन गर्न असफल हुन्छन् । बजारले गरिबहरूको आधारभूत आवश्यकता पर्याप्त रूपमा पूरा गर्न सक्दैन भन्ने कुरो सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको स्थितिले प्रस्ट भइसकेको छ ।

यसर्थ, सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थान गरी रोजगारी सिर्जना गर्न निम्न अनुसारका विषयहरूमा गम्भीर ध्यानाकर्षण गराउन यो ज्ञापनपत्र पेश गरिएको छ :
१. सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थान गरी नयाँ तरिकाबाट औद्योगीकरण मार्फत लाखौँ प्रत्यक्ष/अप्रत्यक्ष रोजगारीको सिर्जना गर्नुपर्ने र तीव्र आर्थिक विकास र समृद्धिको यात्रा तय गर्नु पर्ने हुँदा ती उद्योगहरू ६ महिना भित्र पुनरुत्थान तथा संचालन गर्नु पर्दछ।
२. बन्द तथा जीर्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालनका लागि आवश्यक आर्थिक, प्राविधिक, दक्ष जनशक्ति व्यवस्थापन, तथा उत्पादित तयारी सामानहरूको बजार व्यवस्थापन तथा निर्यात प्रवर्धनका लागि आवश्यक प्रबन्ध मिलाउनु पर्दछ । ऐन-कानुनलाई समय अनुकूल उद्योग-मैत्री बनाएर लैजानु पर्दछ ।
३. रुट (ROOT) मोडेल अपनाएर बन्द तथा जीर्ण उद्योगहरू ६ महिना देखि १ वर्षभित्र नै सञ्चालन गर्न सकिन्छ । रुट मोडेल भनेको बन्द उद्योगलाई रिनोभेट (Renovate) अर्थात् मर्मत सम्भार वा पुनर्निर्माण गर्ने, स्वामित्व लिने (Own), सञ्चालनमा ल्याउने (Operate) र निश्चित अवधिपछि सरकारलाई हस्तान्तरण (Transfer) गर्ने अवधारणा हो । उक्त अवधारणामा राष्ट्रिय-अन्तर्राष्ट्रिय कम्पनीहरूलाई ४० वर्षसम्म बन्द उद्योगहरू लीजमा सञ्चालन गर्न दिन सकिन्छ । त्यसो गर्दा केही वर्षसम्म करका दायरामा छुट दिएर प्रोत्साहन गर्नुपर्ने हुन्छ। यस मोडेलमा सरकारी लगानी गर्नु पर्देन।
४. नीति-नियम बनाई २ महिनाभित्रै लीजमा रुट (ROOT) मोडेल अपनाएर सञ्चालन गर्न देश र विदेशको कम्पनीहरूलाई आह्वान गर्नु पर्दछ।
५. निजी क्षेत्रका लगानीकर्ताहरूले उच्च जोखिम वा जीर्ण अवस्थामा रहेका उद्योगहरूमा लगानी गर्न अस्वीकार गरेको अवस्थामा राज्यले नै पूर्ण लगानी गरी ती उद्योगहरू सञ्चालन गर्न व्यवस्थापिका तथा मन्त्रिपरिषदबाट आवश्यक नीतिगत निर्णयसहित अगाडि बढ्नु पर्दछ ।
६. नेपालमा रहेका कृषिजन्य कच्चा पदार्थमा आधारित बन्द उद्योगहरू (जस्तै, विराटनगर जुट मिल, भृकुटी कागज उद्योग, वीरगन्ज चिनी कारखाना, लुम्बिनी चिनी उद्योग, गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो उद्योग, हेटौँडा कपडा उद्योग, हेटौँडा सिमेन्ट कारखाना) लाई पुनः सुचारु गरेमा लाखौँ बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर दिन सकिन्छ र विदेश पलायनलाई निरुत्साहित गर्न सकिन्छ । तसर्थ, ती बन्द उद्योगहरू पुनः सञ्चालन गर्न जरुरी छ, र सञ्चालनमा रहेका उद्योगहरूको आवश्यक पूर्वाधारलाई बलियो बनाएर लैजानु पर्दछ। बिराटनगर जुट मिल मात्रै सञ्चालन हुदाँ ३,५०० जना प्रत्यक्ष र १५,००० जना अप्रत्यक्ष रोजगारी पाउने छ।
७. उद्योग-मैत्री वातावरण बनाउन राज्यले ठोस प्रावधानहरूको विकास गर्नु पर्दछ । विशेष गरी त्यस्ता उद्योग सञ्चालनको अवधिमा सरकारी, राजनीतिक हस्तक्षेप, युनियनबाजी तथा अन्य कुनै किसिमका अवरोध हुने खालको वातावरणलाई सरकारले निषेध गर्नु पर्दछ ।
८. पूर्ण सरकारी लगानीमा सञ्चालन गर्ने अवस्था नहुँदा सम्मका लागि बन्द रहेका उद्योगहरू सरकारी-निजी साझेदारीमा सञ्चालन गर्नु पर्दछ, र सामुदायिक स्तरमा कृषि तथा साना घरेलु उद्योगहरूको पनि विकास गर्नु पर्दछ ।
अन्तमा, जनमत पार्टीको रोजगार सिर्जना गर्ने अभियान भएकोले सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थान गर्ने नीति लिन जोडदार माग पनि गर्दछ, र यस कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।

भवदीय,

ई.दीपक कुमार साह
राष्ट्रिय उपाध्यक्ष, जनमत पार्टी
प्रमुख, अनुशासन विभाग

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x