कांग्रेस सांसद गिरीको प्रश्न: कृषि कारखाना चलाउन महावीरलाई किन पैसा नदिएको ?
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले महाविर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले वाचा गरेको रकम तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको विशेष समयमा बोल्दै गिरीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले देशभर घुमेर आफ्नो जीवनीमा आधारित पुस्तक बेचेर तीन करोड रुपैयाँ संकलन गरेको बताउँदै कृषि औजार कारखानालाई पुनः सचालन गर्नका लागि सरकारले प्रतिवद्धता गरेको रकम निकासा गर्न आग्रह गरे ।
दैनिक हजारौं युवा देश छाडेर रोजगारी वा गुणस्तरीय शिक्षाको खोजीमा विदेश गइ रहेको बताउँदै उनीहरु विदेशीनुपर्ने कारण खोज्नु पर्ने बताए ।
दुई ठूला अर्थतन्त्रको बीचमा अवस्थित नेपाल गरीब र मगन्ते रही रहनु पर्ने कुनै कारण नभएको पनि सांसद गिरीले बताए । उनले नेपालको विकासमा नीजि क्षेत्रको भूमिका उल्लेख्य रहेको बताउँदै नीजि क्षेत्रलाई पुराना फाइल निकालेर तर्साउने काम बन्द गर्न पनि माग गरे ।


