यादवले उपप्रधानमन्त्रीको शपथ खाएकै दिन एमालेले दियो झडका, जसपाले मधेश सरकार गुमाउने
काठमाडौं। मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।
रोतहटको चपुरमा आइतबार बसेको एमाले प्रदेश कमिटी बैठकले मधेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।
अब एमाले नेतृत्वमा सरकार बनाउन अरु दलहरूसँग छलफल र संवाद गरिने भएको छ। हाल मधेशमा कांग्रेससहितको गठबन्धनबाट जसपा नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार छ ।
तर, अध्यक्ष उपेन्द्र यादव रवि लामिछानेभन्दा तलको अन्तिम वरीयतामा उपप्रधानमन्त्री खान गएपछि मधेश सरकारको नेतृत्व गुम्ने देखिएको छ। नेताहरुले मधेश प्रदेशमा जसपा नेतृत्वकै सरकार हुनुपर्ने अडान राखेका थिए।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्रीको लड्डु दिएपछि उपेन्द्र कुर्सी सम्हाल्न लागे। उनले उपप्रधान एवं स्वास्थ्यमन्त्रीको पद सम्हालेकै दिन एमालेले मधेसमा आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेपछि उनी बिखलबन्दमा परेका छन्।
मधेशमा सबैभन्दा ठूलो दल एमालेको २३ सिट छ । हालको नयाँ गठबन्धनमा रहेका एमाले २३ , जसपाको १९, माओवादीको नौ र एकीकृत समाजवादीको सात गरी ५८ मत छ ।
अर्काेतिर कांग्रेसको २२, जनमतको १३, लोसपाको नौ तथा राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका एक–एक गरी ४७ मत छ । एक सय सात सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ मत चाहिन्छ । नेपालपाना


