१७ जेष्ठ २०८१, बिहीबार

शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुभारम्भ

एसीपी संवाददाता

४ बैशाख २०८१, मंगलवार ११:०९ मा प्रकाशित

काठमाडौं । शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा ३१औँ समूहको कमान्ड तथा स्टाफ तालिम सुरु भएको छ ।

तालिम उद्घाटन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौती भएकाले त्यसको सामना गर्न तयार रहनुपर्ने बताए ।

उनले भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने ढङ्गले आफूलाई तयार पार्ने गरी तालिमलाई सदुपयोग गर्न प्रशिक्षार्थीलाई सुझाव दिए ।

शिक्षाधिकृत उपरथी बाबुराम श्रेष्ठले सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन गर्न सक्षम स्टाफ अधिकृत तयार गर्ने तालिमको मुख्य उद्देश्य रहेको बताए ।

मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण उक्त तालिममा नेपाली सेनाका महिला दुईजनासहित ५४ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एक अधिकृत तथा बङ्गलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यान्मा, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका एक÷एकजना सैनिक तालिममा सहभागी छन् ।

विसं २०४९ पुस १४ गते स्थापना भएको कलेजले विसं २०५० भदौ २० गते १२ जना शिक्षार्थी अधिकृत समावेश गरी पहिलोपटक कमान्ड तथा स्टाफ तालिम थालनी भएको थियो ।

सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागिता सुरु भएको तालिममा नेपाली सेनाका एक हजार सय ७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल र नेपालका २७ जना सहभागी भइसकेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय १४ गरी जम्मा एक हजार तीन सय ४८ जना शिक्षार्थी प्रशिक्षित भइसकेका छन् । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x