१२ मंसिर २०८३, शुक्रबार

विद्यार्थीको दिवा खाजा कटौतीप्रति समिति सभापति डा आरजुको असन्तुष्टिः कक्षा ६ बाट ५ मा किन झारियो ?

एसीपी संवाददाता

१४ बैशाख २०८१, शुक्रबार २२:२९ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले विद्यार्थीको दिवा खाजा कटौतीप्रति असन्तुष्टि जनाइएकी छन्।

सरकारले सामुदायिक विद्यालयका कक्षा ६ सम्मका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको खाजा कटौती गरेर कक्षा ५ मा झारेको छ। ‘सरकारले पोषण कार्यक्रममा लगानी गर्नुपर्छ। विद्यार्थीलाई १५ रुपैयाँले खाजा पुग्छ,’ उनले भनिन्, ‘फेरि कक्षा ५ सम्मलाई मात्र दिइन थालिएको छ।’

उनले दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म पुर्याउनुपर्ने बताइन्।

कांग्रेस सांसद देउवाले कुपोषण अन्त्यका लागि राज्यले पोषणसम्बन्धी कार्यक्रममा बजेट छुट्याउनुपर्ने बताइन्।

ग्रामीण विकास तथा सशक्तिकरण केन्द्रले काठमाडौंमा आयोजना गरेको पोषणसम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै सभापति राणाले पोषणसँग बालबालिकाको भविष्य जोडिएको र देशको भविष्य बालबालिका भएकाले आगामी बजेटमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘आगामी बजेटमा पोषणको पैसा अझै काटिएर आउने सुनियो । त्यसमा सबै पक्षबाट लबिइङ हुन जरुरी छ।’ उनले भनिन्। सभापति राणाले विद्यालयमा पोषणको पैसा घटाउने, कक्षा पनि घटाउने सरकारी नीतिको आलोचना गरिन् ।

सभापति राणाले कुपोषण अन्त्यका लागि रणनीति बनाएरमात्र नहुने भन्दै बजेट पनि बढाउनुपर्नेमा जोड दिइन् । ‘बालबालिकाको सर्वांगिण विकास पोषणमा निर्भर छ । त्यसैले प्राथमिकता कुपोषण पर्नुपर्छ,’ उनले भनिन् ।

आफूले संसदीय समितिबाट कृषि क्षेत्रमा बजेट बढाउन प्रयत्न गरिरहेको भन्दै राणाले यो पनि कुपोषणसँग जोडिने बताइन् । ‘कुपोषणको सवालमा स्थानीय सरकारको भूमिका पनि महत्त्वपूर्ण छ । तथ्यांकमा आधारित रहेर पालिका लाग्नुपर्छ । कुन स्कुलमा कति विद्यार्थी छ भनेर हेर्नुपर्छ, समन्वय जरुरी छ,’ उनले भनिन्, ‘प्रदेशका मेकानिजमलाई कार्यान्वयनमा लार्नुपर्छ । सरकारी निकायहरुको भूमिका प्रभावकारी हुनुपर्छ ।’

सभापति राणाले पोषणसँगै खाद्य स्वच्छता पनि जरुरी रहेको बताइन् । ‘हमीले भर्खरै खाद्य स्वच्छतासम्बन्धी विधेयक पारित गरेका छौं । यसमा स्पष्ट कानुन रहेनछ । हाम्रो समितिले पारित गरेर पठाएको छ । स्वच्छ खाद्यलाई पनि प्राथमिकता दिनुपर्छ,’ उनले भनिन् ।

खाद्य सुरक्षाका लागि सरकारले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशलाई बजेटमा प्राथमिकता दिनुपर्ने र कुपोषणविरुद्धको अभियानमा संलग्न अभियन्तासँग समन्वय गरेर तीनै तहका सरकार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। पोषणसँग जोडिने बालबालिकाको भविष्य, आमाहरुको भविष्य भएमात्रै देशको भविष्य हुन्छ,’ उनले भनिन्, ‘अहिले स्तनपात नगराउने प्रवृत्ति बढेको छ। यसमा पनि पोषणको जरुरी छ। पोषणका लागि सचेतना अभियान जरुरी छ।’

कार्यक्रममा पोषण क्षेत्रमा कार्यरत विज्ञहरुले विभिन्न विषयमा प्रस्तुति दिएका थिए भने देशभरबाट उपस्थित सहभागीले ग्रामिण क्षेत्रमा पोषण सुनिश्चितताका लागि पर्याप्त बजेटको व्यवस्था गर्न तीनै तहका सरकार तथा गैरसरकारी संस्थाको ध्यानाकर्षण गराएका थिए। नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x