लोसपा मधेश अध्यक्षको प्रष्टीकरणः मधेशको नयाँ समीकरणमा हामी छैनौँ
धनुषा। मधेशमा चार दलको नयाँ सरकार बनाउने चर्चा रहे पनि लोसपा मधेश अध्यक्ष जितेन्द्र सोनलले प्रष्टकीरण दिएका छन्।
आइतबार एमाले र माओवादीले जसपा नेता सरोजकुमार यादव नेतृत्वको सरकार छाडेपछि नयाँ सरकार बनाउन गृहकार्य भइरहेको छ।
एमाले र माओवादीले जनमतसँगै लोसपासँग पनि आइतबार छलफल गरेको थियो। चार दलबीच छलफल भएपछि अब मधेशमा चार दलीय गठबन्धन बन्ने चर्चा भइरहेको छ।
तर, लोसपा मधेश अध्यक्ष सोनलले भने मधेशमा नयाँ सरकार बनाउन र एमाले, माओवादीसँग मिल्ने विषयमा कुनै निर्णय नभएको बताए। ‘छलफलमा केही साथी जानु भएको होला। तर, पार्टीले कुनै निर्णय गरेको छैन। हामी केन्द्रमा कांग्रेससँग छौँ,’ उनले भने।
सोनल यसबारे पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं हिँडिसकेका छन्।
मधेशमा एमाले, माओवादी र जनमतले नयाँ सरकार बनाउने कोशिष गरिरहेका छन्। त्यस्तै, जसपाले कांग्रेससहितका दलसँग मिलेर वर्तमान सरकारलाई नै बहुमत सिद्ध गर्ने कोशिष गरिरहेको छ।


