भारतीय प्रधानमन्त्री मोदीले यसरी गरे नेपाली क्रिकेटर सन्दीपको प्रशंसा
काठमाडौं। नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएसँगै अब सन्दीप टी २० विश्वकप त्रिकेट खेल्नेछन्।
सन्दीप तिनै खेलाडी हुन्, जसले भारतको आइपिल खेल्ने पहिलो नेपाली हुन्। उनलाई डिल्ली डेयरभिल्सले दुईपटक आफ्नो टिममा लिएको थियो। नेपाली लेग स्पिनर सन्दीप विश्वभरका सञ्चार माध्यममा छाउने पहिलो क्रिकेटर पनि हुन्। ती क्रिकेटर लामिछानेको प्रशंसा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गरेका थिए। मोदी ०७५ मा नेपाल भ्रमणमा आएका थिए।
२९ वैशाख ०७५ मा काठमाडौंस्थित सभागृहमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै मोदीले नेपाल-भारत सम्बन्ध आइपिएलमा समेत जोडिएको बताएका थिए।
‘नेपालमा यसको कति चर्चा छ मलाई थाहा छैन, भारतमा अइपिएल चलिरहेको छ, अब नेपाल पनि आइपिएलमा जोडिएको छ, पहिलोपटक नेपालमा नवजवान खेलाडी सन्दीप लामिछाने आइपिएलमा भाग लिइरहेका छन्। म आशा गर्छु आउने दिनमा पनि नेपाल र भारतका जनता–जनताबीचको सम्बन्ध मजबुत भइरहने छ,’ मोदीले भनेका थिए।