गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेकोले उन्मुक्ति दिन मिल्दैन : डा. शेखर
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दुइटा पासपोर्टबारे कसैले आवाज नउठाएको बताएका छन् ।
‘गृहमन्त्री रवि लामिछानेको दुइटा पासपोर्ट हुँदाखेरि र संसद्का महासचिवको दुइटा पासपोर्ट हुँदा तपाईँहरू केही लेखिरहनुभएको छैन,’ विराटनगरमा बिहीबार भएको नेपाल प्रेस युनियनको कार्यक्रममा कोइरालाले प्रश्न गरे, ‘देशमा कानुन छ । तर उहाँहरूलाई केही हुँदैन । त्यो कानुन के गृहमन्त्रीलाई र संसद् महासचिवलाई लाग्दैन ?’
गृहमन्त्री लामिछानेले मिडियालाई तर्साउन खोजेको भन्दै कांग्रेस नेता कोइरालाले देश बिस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोजेको देखिएको टिप्पणी गरे ।अहिले ट्रेलरका रूपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पक्राउ गरेको तर्क गर्दै कोइरालाले सिरोहियाले नागरिकताका सन्दर्भमा कुनै गलत भएको पाइएमा दण्ड पाउनुपर्ने बताए ।
‘व्यक्ति सिरोहिया केही पनि होइन । कान्तिपुरलाई जसरी आक्रमण गरेको छ त्यो घटनापछि म मिडियाहरू नजिकबाट फलो गरिरहेको छु । कहाँ के भइरहेको छ र कसले के भनिरहेको छ भनेर,’ डा. कोइरालाले भने ।


